काठमाडौं– बहुऔषधीय गुण भएको गानोडोर्मा (रातो) च्याउको व्यावसायिक उत्पादन गरी नेपाली बजारमा विक्री वितरण सुरू गरिएको छ ।
भैरब च्याउ उद्योग प्रालि तानसेन–८, जरेपिपल, पाल्पामा उत्पादन हुँदै आएको उक्त रातो च्याउको काठमाडौंबाट बालाजुस्थित गुराँस खाद्य उद्योग प्रालिले विक्री वितरण सुरु गरेको हो । उक्त उद्योगले ‘पाल्पाली जाग्यो रहर, काठमाडौंलाई बनाउने रातो च्याउको सहर’ नारा तय गरेको छ ।
गानोडोर्मा (रातो) च्याउ औषधीय गुण भएको बहुउपयोगी च्याउ हो । यसको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । स्वास्थ्य र आयु प्रत्याशामा प्रवर्द्धन प्रभावको कारण यो च्याउ प्रायः मानव चिकित्सामा प्रयोग गरिँदै आएको छ ।
यो च्याउलाई भैरव च्याउ उद्योगले आधुनिक ल्याबमा उत्पादन गरी विक्री वितरणमा ल्याएको उद्योगका अध्यक्ष केशबबहादुर कार्कीले जानकारी दिएका छन् ।
अध्यक्ष कार्कीका अनुसार यो च्याउ नेपालको जंगलमा पनि पाइन्छ । यसको आकार पंखा जस्तै फैलिएको हुन्छ । यो च्याउ अरु च्याउ जस्तो नरम र मीठो हुँदैन । यो काठ जस्तो साह्रो हुन्छ र स्वाद पनि तीतो हुन्छ । त्यसैले यो च्याउ अन्य च्याउ जस्तै तरकारी बनाएर खान सकिन्न । सुकाएको रातो च्याउको टुक्राहरु पानीमा उमालेर रस चियाको रुपमा पिउन पर्ने हुन्छ ।
यसमा पोलिसचाराइडर, ट्रिटरपेनोइड, अर्गानिक जर्मनियम, एमिनो एसिड जस्ता औषधीय तत्व रहेका हुन्छन् । त्यसैगरी प्रोटिन भिटामिन, मिनरल, माइक्रोनट्रियन्ट इत्यादि पौष्टिक तत्वहरु पनि पाइन्छ । यी तत्वले गर्दा हाम्रो शरीरमा रोग प्रतिरोधी क्षमता बढाउछ । यो च्याउ सेवन गर्नाले विभिन्न रोग लागेका विरामीलाई फाइदा हुने गर्दछ । औषधीय र पौष्टिक तत्त्वले भरिपूर्ण भएका कारण पनि विश्वभर यो च्याउको प्रयोग बढ्दै गएको छ ।
यो च्याउ क्यान्सर र एचआइभी एड्स रोगीका लागि अति उत्तम मानिन्छ । यस रातो च्याउको महत्त्वपूर्ण तत्वबाट नै यो सम्भव भएको मानिन्छ ।
उक्त उद्योगले ल्याएको रातो च्याउको खुद्रा मूल्य प्रतिकिलो २० हजार रुपैयाँ पर्ने र होलसेलमा खरिद क्षमता हेरि १२ देखि १५ हजार रुपैयाँसम्म पर्ने अध्यक्ष कार्कीले जानकारी दिए ।
यो रातो च्याउ उत्पादक भैरब च्याउ उद्योगले पाँच बर्षअघिदेखि सिताके च्याउ पनि व्यवसायिक उत्पादन गरी विक्री वितरण गर्दै आएको छ । सिताके च्याउ मानव स्वास्थ्यका लागि निक्कै लाभदायक परिवर्तनहरु गर्न सकिने गुण भएको उद्योगले जानकारी दिएको छ ।









