लमजुङ– गए रातिदेखि परेको अविरल वर्षाका कारण बेसीसहर–चामे सडक खण्डको विभिन्न स्थानमा गरी आधा दर्जन स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । यस खण्डअन्तर्गत बेसीसहर नगरपालिका–६ खरखरे भिर, बेलौती विसना, मर्स्याङ्दी गाउँपालिकाका खुदी, खुदी भुलभुलेलगायत स्थानमा सडक अवरुद्ध भएको डुम्रे–बेसीसहर–चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी एवं इन्जिनियर पुरुषोत्तम अधिकारीले बताए ।
हिमाली जिल्ला मनाङ र पहाडी जिल्ला लमजुङ जोड्ने एकमात्र बेँसीसहर–चामे सडक हो । खरखरेमा मर्स्याङ्दी नदीले तलबाट सडक तान्ने र सडकमाथिबाट ठूला–ठूला ढुंगा, माटोसहितको पहिरोले सडक अवरुद्ध भएको छ ।
यस्तै यस सडक खण्डका विभिन्न स्थानमा सडकमाथिबाट पहिरो आउँदा सडक अवरुद्ध भइरहेको स्थानीयवासीको भनाइ छ । यी स्थानको अवरुद्ध सडक खुलाउन तत्काल सम्भव नभएको इन्जिनियर अधिकारीको भनाइ छ ।
यस सडकमा बर्सेनि पहिराले पटक–पटक सडकअवरुद्ध हुँदा यात्रुले सास्ती भोग्दै आएका छन् । विशेषगरी मनाङका स्थानीयवासी बेसीसहर हुँदै विभिन्न जिल्ला जानका लागि एकमात्र सडक रहेकाले यो सडक बन्द हुँदा समस्यामा पर्ने गर्दछन् ।
गत वर्ष पनि यो सडक अवरुद्ध हुँदा मनाङवासी हेलिकोप्टरको सहायतामा बेसीसहर आएर काठमाडौं, पोखरा गएका थिए । हिमाली जिल्ला मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरुप विसं २०५१ बाट सडक निर्माणको काम अघि बढाउँदै विसं २०६९ मा सम्पन्न भएको थियो ।
त्यसयता सवारी सञ्चालन हुँदै आए पनि बर्सेनि बर्खायाममा पटक–पटक विभिन्न स्थानमा पहिरो जाँदा सडकसमेत पटक–पटक अवरुद्ध हुँदै आएको छ । तल मस्र्याङ्दी नदी र माथि भिरैभिर हुँदै बीचमा साँघुरो सडकमा सवारी सञ्चालन हुँदै आएको छ ।
इन्जिनियर अधिकारीका अनुसार यस सडकबाहेक डुम्रे–बेसीसहर सडक भासिएको छ भने तनहुँमा समेत पहिराले यस सडक अवरुद्ध भइरहेको छ ।









