काठमाडौं– अर्थ मन्त्रालयमा हाइड्रोजन इन्धन उत्पादनको सम्भाव्यताबारे छलफल भएको छ । अर्थमन्त्री जनार्दन शर्माको नेतृत्वमा काठमाडौं विश्वविद्यालय (केयू) अन्तर्गतको ग्रीन हाइड्रोजन ल्याबका पदाधिकारीसँग छलफल भएको हो ।

छलफलमा अर्थमन्त्री शर्माले सुरुमा सय मेगावाटको हाइड्रोन प्लान्टको गृहकार्य अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए । विकसित देशहरु धमाधम हाइड्रोजन इन्धन उत्पादनमा केन्द्रित हुन थालेको प्रसंग निकाल्दै अर्थमन्त्री शर्माले तत्काल सय मेगाावाटको हाइड्रोजन प्लान्ट लगाउने विषयमा आवश्यक अध्ययन र प्राविधिक सहयोग जुटाउने कार्यमा संलग्न हुन केयूका पदाधिकारीलाई निर्देशन दिए ।

‘हाइड्रोजन प्लान्ट लगाउने विषयमा अर्थ मन्त्रालयको तर्फबाट पनि केही तयारी गर्छौं । तपाईंहरु पनि तयारी गर्नुस् । र, हप्ता १० दिनभित्र पुनः अर्को बैठक बसौं,’ उनले भने ।

अर्थमन्त्री शर्माले लगानी बोर्डमार्फत लगानीकर्ताको खोजी गर्ने जानकारी गराएका थिए । रासायनिक मल कारखाना खोल्न विभिन्न देशका अन्तर्राष्ट्रिय कम्पनीहरुले इच्छा देखाइरहेको जानकारी गराउँदै मन्त्री शर्माले हाइड्रोजन इन्धनबाट मल कारखाना सञ्चालन गर्ने विषयमा छलफल अघि बढाउने बताए ।

छलफलमा ग्रिन हाइड्रोइजन ल्याबका प्रमुख बिराजसिंह थापाले सय मेगावाटको ग्रिन हाइड्रोजन प्लान्ट डेढ वर्षमा तयार गर्ने गरी अन्तर्राष्ट्रिय कम्पनीहरुले प्रस्ताव गरिरहेको जानकारी गराएका थिए । उनले विभिन्न देशमा ग्रिन हाइड्रोजनको अभ्यास तथा पेट्रोलियमलाई विस्थापित गरी ग्रिन हाइड्रोजन अवलम्बन गर्ने नीतिका बारेमा जानकारी गराएका थिए ।

उनका अनुसार १ किलो हाइड्रोजन इन्धन उत्पादन गर्न ९ किलो शुद्ध पानी चाहिन्छ । विश्वको तुलनामा नेपालमा हाइड्रोजन इन्धन उत्पादन गर्न धेरै सस्तो भएको उनले बताए ।

‘हिमाली देशको शुद्ध पानी हाइड्रोजन उत्पादनका लागि उपयुक्त हुने विभिन्न अध्ययनले देखाएको छ । त्यसैले नेपालको हिमाली तथा पहाडी क्षेत्रको पानी प्रयोग गरेर हाइड्रोजन उत्पादन गर्यौं भने धेरै फाइदा पुग्छ । निर्यातमा कोशेढुंगा साबित हुन सक्छ,’ थापाले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय