काठमाडौं– पिपुल्स पावर लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण सेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता १०० अंकित दरमा ६ करोड ३२ लाख ६० हजार मूल्य बराबरको ६ लाख ३२ हजार ६०० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गरेको हो ।

कम्पनीले कुल निष्कासनमध्ये आयोजनाबाट असर पर्ने इलाम जिल्लाको इलाम नगरपालिका– १ र ४ का बासिन्दालाई १ लाख ८९ हजार ७८० कित्ता र ती वडाबाहेक इलाम जिल्लाका बासिन्दाका लागि ४ लाख ४२ हजार ८२० कित्ता सेयर खरिदका लागि आवेदन माग गरेको छ ।

लगानीकर्ताले आगामी असार २२ गतेसम्म उक्त माग बमोजिम सेयर खरिदका लागि आवेदन दिन सक्ने र सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी साउन ५ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ ।

कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका १ र ४ मा पर्ने पुवा खोलामा ४.९६ मेगावाट क्षमताको पुवा–२ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

साथै नेपाल बंगलादेश बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दकपुर र इलाम शाखा, ग्लोबल आइएमई बैंकको फिक्कल र इलाम शाखा, प्राइम कमर्सियल बैंकको राँके, मंगलबारे, बिलौते, तीन घरे र इलाम शाखा कार्यालयबाट आवेदन दिनसकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय