नेपालगन्ज– उच्च अदालत तुल्सीपुरको नेपालगन्ज इजलासले कोरोना बिमाबापतको रकम दिन विपक्षी बिमा कम्पनीको नाममा परमादेश आदेश जारी गरेको छ ।

कोरोना बिमासम्बन्धी रिटको अन्तिम सुनुवाइ गर्दै नेपालगन्ज उच्च अदालतका न्यायाधीश केशवराज जोशी र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासले विपक्षी बिमा कम्पनीको नाममा सो आदेश जारी गरेको हो । रिट निवेदकको पक्षमा अधिवक्ता सुनिलकुमार श्रेष्ठ, लोकबहादुर शाह, विकाश आचार्य, प्रभाकर भट्टराई, बलबहादुर चन्द, केवलसिंह थारुलगायतले बहस गरेको अधिवक्ता वसन्त गौतमले जानकारी दिए ।

विपक्षी बिमा कम्पनीको तर्फबाट वरिष्ठ अधिवक्ता इन्द्रजित तिवारी, भोलासिंह हमाल र अधिवक्ता ईश्वरी ज्ञवालीले बहस गर्नुभएको थियो । कोरोना संक्रमणको बिमा गरेका बीमितले बिमा रकम पाउन नसकेको विषयमा नेपालगञ्जका सात अधिवक्ता र अधिकारकर्मीले २०७८ कात्तिक १५ गते उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलासमा बिमाको रकम भुक्तानी माग राख्दै परमादेशको रिट दायर गरेका थिए ।

बाँकेमा रहेका राष्ट्रिय बिमा संस्थानलगायतका २० बिमा कम्पनीले कोरोना बिमा गराए पनि सम्झौताअनुसार बिमा रकम उपलब्ध नगराएपछि मर्कामा परेका बिमितको हकमा एडभोकेसी फोरम नेपालका प्रदेश संयोजकसमेत रहेका अधिवक्ता वसन्त गौतम, नेपाल बार एसोसिएसनका निर्वतमान उपाध्यक्ष एवं महिला कानुन र विकास मञ्चका अधिवक्ता सुनिलकुमार श्रेष्ठ, अधिवक्ता लोकबहादुर शाह, विश्वजित तिवारी, बलबहादुर चन्द र अधिकारकर्मी इन्सेकका भोला महतले संयुक्तरुपमा रिट दायर गरेका थिए ।

कोरोना संक्रमणको सुरुआती अवस्थामा सम्भावित कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर बिमा गरेका बिमितले दाबी गरेको लामो समयसम्म पनि बिमाबापतको रकम पाउन नसकेपछि रिट दायर गरिएको अधिवक्ता सुनिलकुमार श्रेष्ठले जानकारी दिए ।

पहिलो कोरोना संक्रमणको बेला बिमा गराएका सीमित बिमितले रकम पाए पनि अधिकांशले बिमा दाबी भुक्तानी पाउन सकेका छैनन् । बिमा कम्पनीको बदमासी र गैरजिम्मेवारी कार्यले सम्झौताअनुसारको बिमा रकम उपलब्ध नगराएपछि नेपालगन्जका अधिकारकर्मी र कानुन व्यवसायी कानुनी उपचारमा जानुपरेको रिट निवेदक अधिवक्ता लोकबहादुर शाहले बताए ।

बिमा कम्पनीले सर्तबमोजिमको कानुनी दायित्व पूरा नगर्दा बीमित मर्कामा परेका छन् । कोरोना संक्रमणको पुष्टि भएको कागजात, आइसोलेसनमा बसेर उपचार गराएको प्रमाण र बिमा सम्झौताको कागजात पेश गर्दा पनि धेरै बीमितले न्याय नपाएकाले रिट दायर गर्नुपरेको रिट निवेदकले बताएका छन् ।

भुक्तानीका निम्ति माग दाबी गरेको वर्ष दिनभन्दा बढी समय हुँदासमेत बिमा कम्पनीले आलटाल गरी सरकारबाट रकम प्राप्त भएपछि भुक्तानी गरिनेछ भनेर बिमित झुक्याउने कार्य गरेको रिट निवेदनमा उल्लेख गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय