झापा– भद्रपुर नगरपालिका–५ का पाँच युवा चिनेजानेका बिचौलियाबाटै वैदेशिक रोजगारीको बहानामा ठगिएका छन् । संयुक्त अरब इमिरेट्सको दुबईमा क्लिनर काममा पठाइदिने भनी वडा नं ६ का ५० वर्षीय गोपाल उराउले पाँच वर्षअघि ती युवाबाट ३ लाख ५० हजार असुलेका थिए ।
उराउ वैदेशिक रोजगारीमा युवा खोज्ने बिचौलिया हुन् । ठगीको शिकार बनेका बेचन यादव, रोहित यादव, राजीव सहनी, मनोज मण्डल र सञ्जय चौधरीलाई वैदेशिक रोजगारीमा पठाइदिने भनी रकम असुलेपछि विभिन्न बहानामा आलटाल गर्दै आएका उराउले गत वर्ष वडाध्यक्षको रोहवरमा रकम तिर्ने भाकासहितको कागजमा सही पनि गरेका थिए ।
पाँच वर्ष वितिसक्दा पनि पीडित युवा न त वैदेशिक रोजगारीमा जान पाए, न त ऋण काढेर जम्मा गरेको उनीहरुको रकम फिर्ता नै भयो । ‘गाउँकै चिनेजानेको दाइ भएकाले उहाँले भनेको पत्यायौं,’ ठगीमा परेका भद्रपुर–५ बेचन भन्छन्, ‘पैसा पहिल्यै जम्मा गर्न लगाउनुभयो । भनेकै बेला ऋण काढेर भए पनि दियौं, तर अहिले विदेश पठाउने कुरै हरायो, पैसा पनि फिर्ता पाउन सकेनौं ।’ पर्ख भन्दै आलटाल गरेको तीन वर्ष बितेपछि पीडितले गत वर्ष नगरपालिका गुहारेका थिए ।
वडाध्यक्ष बन्धु कार्कीको रोहवरमा २०७८ असार २७ गते चार महिनाको भाका राखी रकम तिर्ने कागज समेत गरिएको थियो तर कागजमा तोकिएको भाकाभित्र पनि उराउले रकम फिर्ता गरेनन् । आर्थिक रुपमा विपन्न परिवारका ती पाँच युवा आफ्नो पीडा बोकेर वैदेशिक रोजगार विभाग पुगे । गत मंसिर २८ गते विभागमा उनीहरुले उजुरी पनि दिए् ।
तर विभागले पनि अहिलेसम्म पीडितलाई न्याय दिलाउन र पीडकलाई कानुनी कारबाहीको दायरामा ल्याउन सकेको छैन । ‘यस्तो मुद्दा वैदेशिक रोजगार विभागले हेर्छ भनेर सल्लाह पाएपछि हामी पाँचैजना मिलेर संयुक्त निवेदन दियौं,’ अर्का पीडित भद्रपुर–५ का २८ वर्षीय राजीव भन्छन्, ‘विभागका सरहरुले ब्याजसहित ५ लाख ५० हजार तिराइदिन्छौं भन्नुभएको छ ।’
पीडितका अनुसार विभागले यस मुद्दामा कारबाही प्रक्रिया अघि बढाए तापनि परिणाम भने निस्किएको छैन । विभागले पीडक उराउविरुद्ध पक्राउ पूर्जी जारी गरिसकेको छ । पक्राउ पूर्जी जारी भएको सुइँको पाएपछि उनी फरार भएका छन् । अचेल गाउँतिर उनी देखिँदैनन् । पीडितहरु प्रहरीले आरोपितलाई पक्राउ गर्न नसकेकामा निराश छन् ।
प्रशासनमा उजुरीको चाङ
वैदेशिक रोजगारीमा भएका ठगीका घटनामा प्रमुख जिल्ला अधिकारीसमक्ष समेत उजुरी दिन सकिने कानुनी व्यवस्था छ ।
झापामा एक वर्षमा वैदेशिक रोजगारीका ठगी सम्बन्धी ३४ वटा उजुरी दर्ता भएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल बताउँछन् । उनी प्रजिअको रुपमा झापा आइसकेपछि नै २० वटा त्यस्ता उजुरी प्रशासनमा परेका छन् । आपसी सहमतिमा रकम फिर्ता हुने रहेछ भने जिल्लामै छलफल चलाउने र नभए आवश्यकता अनुसार वैदेशिक रोजगार विभागमा उजुरी गर्न पठाउने कार्य हुँदै आएको प्रजिअ रिजाल बताउँछन् ।
एक वर्षमा पाँच वटा मुद्दामा पीडितको २३ लाख ६० हजार फिर्ता गराएको र अरु पाँच वटा मुद्दाको रकम फिर्ता गर्ने सहमति भएको छ भने आठवटा मुद्दालाई विभागमा पठाइएको उनको भनाइ छ ।









