काठमाडौं– आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयरको बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बाँडफाँट भएको हो ।
बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्कासन गरेको आइपिओमा १६ लाख ७४ हजार ६५२ जनाले एक करोड ८४ लाख २४ हजार ९०० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए ।
आवेदन दिएकामध्ये एक हजार ८५८ जना आवेदकको आवेदन रद्द भएको र बाँकी १६ लाख ७२ हजार ७९४ योग्य आवेदकमध्ये ६ हजार २६१ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत सेयर बाँडफाँट गरिएको छ । त्यसमा बाँकी ५ कित्ता सेयर १० कित्ताभन्दा धेरै माग गरी आवेदन दिएकामध्ये गोलाप्रथाबाट थप ५ जनालाई १–१ कित्ताका दरले बाँडिएको कम्पनीले जनाएको छ ।
कम्पनीले निष्कासन गरेको साधारण सेयरमा कुल जारी पुँजी (२ लाख २ हजार कित्ता)को ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता सेयर कर्मचारीलाई र निष्कासित (६७ हजार कित्ता) सेयरको ५ प्रतिशत अर्थात् २ हजार ३५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी ६२ हजार ६१५ कित्ता सेयर खरिदका लागि सर्वसाधारणलाई आह्वान गरेको थियो ।
बाँटफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एन्ड क्लियरिङ लिमिटेडको वेबसाइट (मेरो शेयर)मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।









