काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि अस्ट्रेलियासमक्ष आग्रह गरेको छ । नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी वोल्कसँग काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज भएको भेटवार्तामा चेम्बरका पदाधिकारीले जलविद्युत्, वन, पर्यटन, कृषि एवं साना उद्योगमा लगानीका लागि आग्रह गरेका हुन् ।
नेपाल र अस्ट्रेलियाबीच ६० वर्षभन्दा पुरानो कूटनीतिक सम्बन्धलाई थप बलियो बनाउन सरकारी र निजी क्षेत्रबाट उच्चस्तरीय आर्थिक साझेदारीको आवश्यक्ता रहेको अध्यक्ष मल्लले बताए ।
अस्ट्रेलियाले नेपालको वन क्षेत्रको संरक्षण तथा सम्बर्द्धन गर्न लामो समयदेखि आर्थिक एवम् प्राविधिक सहयोग गरेको भन्दै अध्यक्ष मल्लले यसको निरन्तरतामा जोड दिए । उनले जडीबुटी एवं खानीजन्य तथा धातु प्रशोधन गर्ने उद्योगमा लगानी गरी अन्तरराष्ट्रिय बजार प्रवर्द्धन गर्नसमेत राजदूत वोल्कसमक्ष आग्रह गरे ।
अध्यक्ष मल्लले भने, ‘समृद्ध मुलुक अस्ट्रेलियाले थुप्रै देशमा लगानी गरिरहेको छ । तर नेपालमा लगानी निकै नगण्य मात्रामा छ । भारत तथा बंगलादेशको विद्युत् बजारलाई मध्यनजर गर्दै अपार सम्भावना भएको नेपालको जलविद्युत्मा लगानी गर्न म महामहिम राजदूत वोल्कलाई आग्रह गर्दछु ।’ अस्टे«ेलियाका ठूला लगानीकर्तालाई नेपालको जलविद्युत्मा लगानी गर्न अध्यक्ष मल्लले आग्रह गरे ।
वैदेशिक लगानीका लागि नेपालले नीतिगत क्षेत्रमा थुप्रै सुधार गरिसकेकाले ढुक्क भएर लगानी गर्न अध्यक्ष मल्लले राजदूत वल्कसमक्ष आग्रह गरे । ‘अस्ट्रेलियाको लगानी सुनिश्चित गर्न निजी क्षेत्रको तर्फबाट नेपाल चेम्बर अफ कमर्सले पहल गर्नेछ,’ अध्यक्ष मल्लले भने ।
नेपालका विद्यार्थीहरु अस्ट्रेलियमा अध्ययनका लागि गइरहेको सन्दर्भमा अध्यक्ष मल्लले त्यहाँका विख्यात शैक्षिक संस्थाबाट नेपाली शैक्षिक संस्थालाई सम्वन्धन दिई शिक्षाको गुणस्तर सुधारमा सहयोग गर्न समेत राजदूत वल्कसमक्ष आग्रह गरे ।
अध्यक्ष मल्लले नेपाल र अस्ट्रेलियाबीच सीधा हवाई सेवा विस्तार गरेर दुवै देशले फाइदा लिन सक्नेमा जोड दिए । यसले नेपालको पर्यटन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने अध्यक्ष मल्लको विश्वास छ । सूचना प्रविधीको क्षेत्रमा लगानीका लागि अस्ट्रेलियाको निजी क्षेत्रमा पहल गरिदिन समेत राजदूत वल्कलाई अध्यक्ष मल्लले प्रस्ताव गरे ।
जवाफमा राजदूत वल्कले नेपाल–अस्ट्रेलियाको कुटनीतिक सम्बन्ध ६० वर्षभन्दा पुरानो र ऐतिहासिक भएको बताए । नेपालसँगको ऐतिहासिक सम्बन्धलाई अस्ट्रेलियाले सधैं गर्व गर्ने उनको भनाइ छ । नेपालबाट वार्षिक ५० हजार विद्यार्थी अध्ययनका लागि अस्ट्रेलिया जाने गरेको भन्दै वल्कले उनीहरुको शैक्षिक सुधार तथा भविष्यका लागि आफ्नो सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।
वल्कले भने, ‘नेपालबाट वार्षिक ५० हजार विद्याथीलाई अस्ट्रेलियाले अध्ययन भिसा उपलव्ध गराउँदै आएको छ । अस्ट्रेलिया अध्ययन गर्न आउने नेपाली विद्यार्थीको संख्या विश्वमा चीन, भारतपछि नेपाल तेस्रो स्थानमा छ । हामी अझै यसको सुधारको पक्षमा छौं ।’ नेपालमा लगानीका लागि नीतिगत समस्या हुँदा पनि अस्ट्रेलियाबाट अपेक्षित लगानी आउन नसकेको राजदूत वल्कको भनाइ छ ।









