काठमाडौं– प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिइओ) निर्मल दाहालको योग्यता नपुगेको भन्दै नियामक निकाय बिमा समितिमा उजुरी परेको छ ।

बिमा कम्पनीमा विभागीय पदभन्दा माथिल्लो तहमा नियुक्त हुने व्यक्तिसँग बिमा क्षेत्रमा कम्तीमा २ वर्ष काम गरेको अनुभव हुनुपर्ने व्यवस्था छ । तर दाहाल त्यस्तो अनुभवबिनै कम्पनीको डिसिइओमा नियुक्त भएको उजुरीमा उल्लेख छ ।

बिमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका २०७५ को दफा ३१ को उपदफा २ मा विभागीय प्रमुखभन्दा माथिल्लो तहमा नियुक्त गर्नु परेमा उपदफा (१) मा उल्लेखित योग्यताका अतिरिक्त बिमा वा बैंकिङ क्षेत्रमा थप एक वर्ष व्यवस्थापकीय पदमा रही काम गरेको हुनुपर्ने उल्लेख छ ।

उपदफा (१) मा एक वर्ष बिमा क्षेत्रमा काम गरेको अनुभव भएको व्यक्तिलाई विभागीय तहमा नियुक्त गर्न सकिने प्रावधान छ । सोभन्दा माथिको पदमा नियुक्त गर्दा थप एक वर्षको अनुभव चाहिन्छ । यसको अर्थ डिसिइओ हुन २ वर्षको अनुभव चाहिन्छ । तर दाहालसँग बिमा कम्पनीमा काम गरेको अनुभवै नभएको दाबी गरिएको छ ।

बिमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका २०७५ को दफा ३१ को उपदफा (१) मा बिमा कम्पनीको विभागीय प्रमुखको योग्यताबारे उल्लेख छ ।

उजुरी परेपछि समितिले दाहालको योग्यता र अनुभवबारे अनुसन्धान सुरु भएको जानकारी दिएको छ । समिति स्रोतका अनुसार समितिले दाहालको शैक्षिक योग्यता र अनुभवबारे पत्र पठाएर जानकारी मागेको छ ।

दाहालले समितिमा बुझाएको स्पष्टीकरणमा वित्तीय संस्थामा बिमासम्बन्धी काम गरेको अनुभवलाई बिमा कम्पनीमा काम गरेको रुपमा अर्थ्याइएको समिति स्रोतको भनाइ छ । प्राइमलाइफमा आउनुअघि उनले युकेएडको सहयोग रहेको गैरसरकारी संस्था सक्षम एक्सेस टू फाइनान्समा काम गरेका थिए ।

दाहालको स्पष्टीकरण सोही संस्थामा काम गर्दा बिमा क्षेत्र हेरेको उल्लेख छ । सक्षम एक्सेस टू फाइनान्समा काम गरेको कुरालाई बिमा कम्पनीको अनुभव मान्ने या नमान्ने भनेर समितिको माथिल्लो तहले निर्णय गर्ने स्रोतको भनाइ छ ।

दाहालको नियुक्ति नियमविपरीत ठहर भए कारवाही हुने समितिको भनाइ छ । दाहाललाई प्रमुख कार्यकारी अधिकृत बनाउन प्राइमलाइफमा ल्याइएको हो । दाहाललाई सिइओ बनाउन डिसिइओ बनाइए पनि उनको योग्यताले भने समस्या खडा गर्ने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय