काठमाडौं– अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले बुधबारको लागि अमेरिकी डलरको बिक्रीदर १२६ रुपैयाँ ३४ पैसा तोकेको छ । डलरको मूल्यमा भएको यो वृद्धिले आयातित लगायत स्वदेशी उत्पादनको मूल्य बढाउनेछ ।
भारतीय मुद्रा कमजोर भएपछि नेपाली मुद्रा पनि कमजोर भएको हो । नेपाली मुद्राको भारतीय मुद्रासँगको विनिमय दर स्थिर छ । यसको अर्थ भारतीय मुद्रा कमजोर वा बलियो हुँदा नेपाली मुद्रा पनि कमजोर वा बलियो हुन्छ ।
डलरको मूल्य बढ्दा आम नेपालीलाई बेफाइदा हुन्छ । डलरको भाउ बढ्दा आयातित वस्तुका लागि तिर्नुपर्ने मूल्य बढ्छ ।
यसको अर्थ उपभोक्ताले ती वस्तुका लागि बढी मूल्य तिर्नुपर्छ । सरकारले विदेशी ऋणको साँवाब्याज पनि डलरमै भुक्तानी गर्नुपर्ने हुँदा सरकारको व्ययभार पनि बढ्छ । ठूलठूला आयोजनामा प्रयोग हुने यन्त्र उपकरण पनि विदेशबाटै आयात गर्नुपर्ने हुँदा डलरको मूल्य बढ्दा आयोजनाहरुको लागत बढ्छ ।
डलर महँगो बन्दा निर्यातकर्ता व्यवसायी, पर्यटन क्षेत्र र विदेशबाट रेमिट्यान्स प्राप्त गर्ने परिवार लाभान्वित हुन्छन् । पर्यटन व्यवसायीले पनि विदेशी पर्यटकलाई दिएको सेवाबापतको भुक्तानी विदेशी मुद्रा, विशेष गरी डलरमै लिने हुँदा उनीहरुलाई पनि फाइदा हुन्छ । रेमिट्यान्स आउने परिवारको हकमा विदेशमा हुने आफन्तले पहिलेकै जति रकम पठाउँदा पनि यता बढी पाइन्छ ।
रुस–युक्रेन तनावका कारण सुरक्षित मुद्रा मानिने डलरको माग बढ्दा यसको मूल्य बढेको हो ।









