बेसीसहर– पहाडी जिल्ला लमजुङका ७६ प्रतिशत खानेपानीमा इकोली अर्थात् दिसा मिसावाट भएको पाइएको छ । जिल्लाका सात स्थानीय तहको खानेपानी आयोजना र ढुंगेधाराको खानेपानीमा स्वास्थ्य कार्यालयले विभिन्न समयमा १२० स्थानको पानीको नमूना परीक्षण गरेकामा ९१ वटामा इकोली भेटिएको स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताए ।

उनले भने, ‘पानीमा दिसाजन्य पदार्थ मिश्रण हुनुलाई इकोली भनिन्छ । परीक्षणमा जिल्लाका अधिकांश स्थानको पानी मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालको रहेको पाइएको छ ।’

यतिका प्रतिशतमा इकोली भेटिँदा यस जिल्लामा शुद्ध पानी कमै नागरिकले मात्र प्रयोग गरिरहेको उनको भनाइ थियो । जिल्लाका आठ स्थानीय तहमध्ये दूधपोखरी गाउँपालिकामा भने परीक्षण गरिएको छैन । स्वास्थ्य कार्यालयका अनुसार परीक्षण गरिएकामध्ये सुन्दरबजार नगरपालिकामा ३९ वटा नमूना परीक्षण गर्दा २७ अर्थात् ६९ प्रतिशत इकोली भेटिएको छ । बेसीसहर नगरपालिकामा २९ वटा नमूना परीक्षण गर्दा २२ अर्थात् ७६ प्रतिशत पानीमा इकोली भेटिएको छ । मध्यनेपाल नगरपालिकामा खानेपानीको २२ वटा नमूना परीक्षण गर्दा २० अर्थात् ९१ प्रतिशत पानीमा इकोली भेटिएको छ ।

राइनास नगरपालिकामा आठ नमूना परीक्षण गर्दा ६ वटा अर्थात् ७५ प्रतिशतमा र दोर्दी गाउँपालिकामा पाँच नमूना परीक्षण गर्दा चारमा इकोली भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ । मर्स्याङ्दी गाउँपालिकामा परीक्षण गरिएको दुईवटै नमूनामा इकोली भेटिएको छ भने क्वहोंलासोंथर गाउँपालिकामा १४ नमूना परीक्षण गर्दा १० मा त्यस्तो भेटियो ।

बर्खामा संक्रमणको जोखिम रहने भएकाले स्वास्थ्य सावधानी अपनाउनाका साथै पानी शुद्धीकरण गरी पिउन उक्त कार्यालयले आग्रह गरेको छ ।

जिल्ला अस्पतालदेखि घलेगाउँ घरवास, ढोडेनी स्वास्थ्य चौकी, फेलनी स्वास्थ्य चौकी, विभिन्न खानेपानी आयोजना, कुवा, उपभोक्ता समितिको धारालगायत पानी उमालेर मात्र पिउनुपर्ने स्वास्थ्य कार्यालयले जोड दिएको हो । उक्त कार्यालयले सार्वजनिक गरेको एकीकृत भेक्टर सर्भिलेन्सको नतिजाअनुसार राइनास, मध्यनेपाल र सुन्दरबजार नगरपालिकामा गरिएको परीक्षणमा तीन पालिकामा लामखुट्टेबाट विभिन्न प्रकोप फैलिन सक्ने देखिएको छ ।

तीमध्ये राइनास र सुन्दरबजारमा डेँगु, हात्तीपाइले रोग र कालाज्वारको प्रकोप फैलिनसक्ने देखिएको र मध्यनेपाल नगरपालिकामा भुसुनाजन्य रोग अर्थात् मलोरियाको प्रकोप फैलिने उच्च सम्भावन देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय