काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा बुधबार भएको भेटवार्तामा उनीहरूबीच नेपाल र भारतबीचको आपसी सम्बन्ध र सहयोगका विषयमा छलफल भएको छ ।

सो अवसरमा ऊर्जामन्त्री भुसालले नेपाल–भारतको सम्बन्ध मित्रता, समानता, सहयोग र पारस्पारिक सम्मानका साथ अगाडि बढेको स्मरण गर्दै आगामी दिनमा दुई देशको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेको ऊर्जामन्त्रीको सचिवालयले जनाएको छ । उनले पछिल्लो समय नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण सहकार्य भएको उल्लेख गर्दै अगामी दिनमा अझ विस्तार हुने आशा राखिन् ।

मन्त्री भुसालले भनिन्, ‘नेपाल–भारतबीच हाल हुँदै आएको ऊर्जा व्यापार सकारात्मक छ । हामीसँग भएको स्वच्छ ऊर्जा भारतलाई आवश्यक रहेको छ । त्यसैले आगामी दिनमा दीर्घकालिन विद्युत् व्यापार सम्झौता गरी अगाडि बढ्न नेपाल इच्छुक छ । यहाँको कार्यकालमा विद्युत व्यापारमा महत्वपूर्ण सफलता प्राप्त हुने मैले विश्वास लिएको छु । उनले पञ्चेश्वर जलविद्युत् परियोजना अगाडि बढाउने साथै बाढीबाट हुने क्षतिका विषयमा दुई देशबीचको समझदारीलाई सक्रियताका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् ।

सो अवसरमा राजदूत श्रीवास्तवले दुई देशबीचको सहकार्य थप विस्तार गर्न आफूले सक्दो पहल गर्ने विश्वास दिलाए । पछिल्लो एक वर्षमा विद्युत् व्यापारका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै उनले भने, ‘पछिल्लो एक वर्षमा विद्युत् व्यापारमा ठूलो सफलता मिलेको छ । यसमा दुवै सरकारको सहकार्य सराहनीय छ ।’ आफूले विद्युत् उत्पादन एवं व्यापारका लागि निरन्तर पहल गर्ने विश्वास दिलाउँदै उनले भने, ‘विद्युत व्यापार दुवै देशका लागि फाइदा जनक विषय हो । यसमा हाम्रो तर्फबाट निरन्तर सहयोग हुनेछ ।’

भेटमा जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, सहसचिवद्वय बाबुराम भण्डारी र चिरञ्जीवी चटौत र परराष्ट्र मन्त्रालयको प्रतिनिधिको सहभागिता रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय