काठमाडौं– प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत उदयपुर जिल्लाको श्री खाट मन्दिर आघारभूत विद्यालयमा अध्ययनरत ३५० भन्दा बढी बालबालिकालाई स्कुल ब्याग वितरण गरी भवन निर्माणका लागी ३ तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
परराष्ट्रमन्त्री डा. नारायण खड्काको प्रमुख आतिथ्यमा स्कुलमै सम्पन्न कार्यक्रममा ब्याग र आर्थिक सहयोग हस्तान्तरण गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । डा. खड्काकै पहलमा कम्पनीले सहयोग गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।
उक्त कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री डा. खड्काले आफ्नो गृहवडाको विद्यालयलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिको लागि आफूले सक्ने सहयोग गर्ने बताए । आफ्नो पहलमा सहयोग गरेकोमा प्राइमलाइफ इन्स्योरेन्स कम्पनीलाई धन्यवाद ज्ञापन गरे ।
कार्यक्रमका कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले जीवन बिमा कम्पनीले जसरी आर्थिक सुरक्षामा जोड दिएको हुन्छ त्यसरी नै शिक्षा स्वास्थ्य जस्तो विषयमा समेत संवेदनशील भएकोले सामाजिक उत्तरदायित्वअन्तर्गत मन्त्रीको पहलमा स्कुल तथा विद्यार्थीलाई सहयोग गर्न पाएको खुसी व्यक्त गरे ।
स्कुल व्यवस्थापन समितिका अध्यक्ष उद्धव काफ्लेले इन्स्योरेन्स कम्पनीले यस किसिमको सहयोगले थप हौसला मिलेको बताउँदै मन्त्री तथा कम्पनीलाई धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी, लक्षमण ज्ञवाली, मन्दिल अधिकारी, हरिबहादुर खड्का, विकाश अधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक विद्यार्थीलगायत विभिन्न क्षेत्रका ५०० जनाभन्दा बढी व्यक्तित्वको सहभागिता रहेको थियो ।









