काठमाडौं– फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको काठमाडौं महानगरपालिकाले स्पष्ट पारेको छ । महानगरको नीतिअनुरुप कुनै पनि समयमा सडकको किरानामा खाद्यलगायतका विभिन्न सामग्रीको बिक्री वितरण गर्न नपाइने जनाइएको छ ।

नगर प्रहरी प्रमुख धनपति सापकोटाले रासससँग कुरा गर्दै महानगरले नगर प्रहरीलाई दिएकोमध्ये पहिलो जिम्मेवारी नै फुटपाथ (सडकपेटी) व्यवस्थापन भएको बताउनुभयो । उहाँले भने, ‘सडकपेटी पैदलयात्रु हिँड्नका लागि हो, व्यवसाय गर्नका लागि बनाइएको होइन, त्यसैले अटेर गरी सडकपेटीमा पसल राख्नेलाई उठाइएको हो, अटेर गर्नेकै सामान जफत गरेको हो ।’

एक महिनाअघि निर्वाचित भएका महानगर प्रमुख बालेन्द्र साहले उम्मेदवारी घोषणाकै क्रममा फुटपाथ व्यवसायलाई व्यवस्थित गर्ने बताएको उनले स्मरण गराए । महानगरले आगामी आर्थिक वर्षका लागि यही असार ८ गते नगरसभाबाट पास गरेको नीति तथा कार्यक्रममा पनि फुटपाथ व्यवसायलाई नियन्त्रण गर्ने उल्लेख छ ।

‘महानगरको कार्यपालिका बैठकको निर्णयानुसार हामीले काम अगाडि बढाएका हौं, यसमा विरोध गर्नुपर्ने विषय नै छैन, कार्यपालिकाको निर्णयमा काम गर्दा किन विरोध गर्नु, यसलाई नियन्त्रण गर्नका लागि सडकपेटी प्रयोग गरी राखेको व्यवसायलाई करको दायरामा आउने गरी रूपान्तरण गर्नु हाम्रो दायित्व हो,’ सापकोटाले भने ।

काम गर्दा आलोचना आउनु स्वाभाविक भएको उल्लेख गर्दै उनले सडक अतिक्रमणलाई नियन्त्रणा गर्ने काम महानगरले गरेको बताए । अतिक्रमण नियन्त्रण गर्दा एक पक्षलाई मर्का पर्ने र मर्का परेका पक्षबाट विभिन्न किसिमका नकारात्मक टीकाटिप्पणी हुनुलाई आफूले स्वभाविकरुपमा लिएको उनको भनाइ छ । फुटपाथ व्यवस्थापनको काम आमनागरिकको हितका लागि गरिएको प्रमुख सापकोटाले बताए ।

‘सडकपेटी प्रयोग गरेर व्यवसाय सञ्चालन गर्ने काम कुनै पनि बहानामा सकारात्मक होइन, महानगरको नीतिमा २४ घण्टा फुटपाथमा व्यापार गर्न पाइने छैन, यदि कतै भएको छ भने त्यो महानगरको आँखा छलेर भएको हो, आगामी दिनमा ती सबैलाई कानुनी दायरामा ल्याउने प्रयास महानगरको रहन्छ,’ उनले भने ।

फुटपाथ व्यवस्थापनका हिसाबले अहिले मानिसको आवागमन बढी हुने साँझ बिहानको समय भएकाले नगर प्रहरी त्यो नियन्त्रण गर्न केन्द्रित भएको उनले बताए । सडक किनारामा मकै पोलेर बिक्री गर्दैै आएका दम्पतीलाई नगर प्रहरीले लछारपछार गर्दै सामान जफत गरेको भिडियो सामाजिक सञ्जालमा आएपछि महानगरपालिका केही आलोचित भएको थियो ।

उक्त घटनाको स्मरण गराउँदै उनले भने, ‘साँझ बिहान केही त्यस्ता स्थानमा हामीले छाड्ने गरेका छौँ, तर त्यो पनि महानगरको नीतिमा पर्दैन, केही दिनअघिको घटनाको सन्दर्भ भने दिउँसोको हो, त्यो त हामीले छाड्ने कुरै भएन ।’ महानगरले अहिले दैनिक चार टोली खटाएर अतिक्रमण नियन्त्रणको काम गरिरहेको बताइएको छ । अहिले बढी मात्रामा सडक अतिक्रमण हुने स्थान सुन्धारा, न्युरोड, बानेश्वर, कोटेश्वर, गौशाला, चाबहिल, नयाँ बसपार्क, बालाजु, कलंकी, कालीमाटीलगायत छन् ।

महानगरले पटक–पटक सूचना जारी गर्ने, माइकिङ गर्ने काम गर्दा पनि अटेरी गरेपछि कामपा निरीह बन्नुपरेको उनी बताउँछन् । पटक पटकको आग्रहलाई बेवास्ता गरेपछि महानगरले सामग्री जफत गर्नुपरेको जनाइएको छ ।

जफत गरिएका सामग्री लिलाम
सडकमा व्यवसाय गर्नेबाट जफत गरिएका सामान लिलामी प्रक्रियामा जाने गरेको महानगरले जनाएको छ । सड्ने, गल्ने खाद्यवस्तु तथा तरकारी–फलफूल र प्रज्ज्वलनशील पदार्थलगायत सामानको भने जरिवाना तिराएर तत्काल सम्बन्धित व्यवसायीलाई नै फिर्ता गर्ने गरिएको र नबिग्रने सामग्रीको मात्र लिलाम गर्ने गरिएको छ ।

चालु आवमा १५ लाख सामग्रीको लिलाम प्रक्रिया अघि बढाइएको छ । गत आवमा ५२ लाख बराबरका सामान लिलाम गरिएको थियो । प्रमुख सापकोटाका अनुसार त्यसमा फलामजन्य, होडिङ बोर्ड, पाइप, साइकल र ठेलागाडालगायतका सामान रहेका थिए । यसरी लिलाम गरेर असुल भएको रकम महानगरको कोषमा जम्मा हुने गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय