काठमाडौं– महाअभियोग सिफारिस समितिले बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नाम लिएका बहालवाला न्यायाधीशलाई पनि बोलाउने निर्णय गरेको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश राणाले बयानका क्रममा नाम लिएका बहालवाला न्यायाधीशलाई पनि बोलाउने निर्णय गरेको समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिएका छन् ।

‘निलम्बित प्रधानन्यायाधीश राणासँग अनुसन्धानका लागि लिइएको वयानका क्रममा नाम जोडिएर आएका नाम संकलन गरी बोलाउँछौं,’ उनले भने, ‘बयानमा नाम जोडिएर आएका बहालवाला न्यायाधीश, पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्तालाई पत्राचार गर्ने निर्णय भएको छ ।’

समितिको अर्को बैठक बिहीबार बिहान ८ः३० मा बस्नेछ । निलम्बित प्रधानन्यायाधीश राणासँग महाभियोग सिफारिस समितिले पहिलो चरणको बयान लिने काम मंगलबार सकिएको छ । समितिले यही भदौ ८ गते बयान लिने निर्णय गरी भदौ १६ गतेदेखि बयान लिन सुरु गरेको थियो भने मंगलबार र पाँचौं दिन पहिलो चरणको बयान सकिएको थियो ।

राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए । संसद्ले महाभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गते पहिलो बैठक बसेको थियोे । राणाविरुद्ध नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनले महाअभियोग पुष्टि गर्न ३४ बँुदे पत्र समितिलाई बुझाएको थियोे । उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारण समेत समेटिएको छ ।

समितिले निलम्बनमा पर्नुभएका प्रधानन्यायाधीशलाई प्रश्न सोध्ने र राणाले प्रश्नको जवाफ दिने पहिलो चरणको क्रम सकिए पनि पूरक प्रश्न सोध्ने र बयानका क्रममा आएका व्यक्तिहरूसँग पुनः सबालजवाफ गर्ने समितिको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय