काठमाडौं– दुई दशकअघि नेपालमा आधुनिक मल्टिप्लेक्स संस्कृतिको थालनी गर्ने पहिलो मल्टिप्लेक्स बिग मुभिजले प्रविधिको तीव्र विकास र दर्शकहरूको बढ्दो अपेक्षालाई सम्बोधन गर्ने उद्देश्यले सिनेमा हललाई रिनोभेसन गरी अत्याधुनिक सुविधासम्पन्न बनाएको छ ।
रिनोभेसनका क्रममा कम्पनीले आफ्नो मूल नारा एक्सपिरियन्स सिनेमा, एक्सपिरियन्स द डिफरेन्सलाई सार्थक बनाउन हलका हरेक पक्ष– प्रविधि, ध्वनि, सिट, वातावरण जस्ता पक्षमा अन्तर्राष्ट्रिय स्तर कायम गरेको एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजको हलमा अत्याधुनिक दृश्य प्रविधि बार्को फोरके आरजीबी लेजर प्रोजेक्टर जडान गरिएको बताइएको छ । कम्पनीले युरोपेली ब्रान्डको बहुचर्चित बार्को एसपी फोरके–२० सी (सिरिज ४) स्मार्ट लेजर प्रोजेक्टरमा २१,००० ल्युमेन्सको चमक र फोरके को नेटिभ रिजोलुसन रहेको जनाएको छ । पर्दामा चलचित्रका दृश्यहरूलाई अत्यन्त स्पष्ट, चम्किलो र जिवन्त बनाउन कम्पनीले ठूलो रकम खर्चेर यो प्रोजेक्टर जडान गरेको कम्पनीको भनाइ छ ।
पर्दाका दृश्यहरूलाई अत्यन्त स्पष्ट, चम्किलो र जिवन्त बनाउन बिग मुभिजका हलहरूमा विशेष सिल्भर स्क्रिन राखिएका छन् ।
साउन्ड सिस्टमतर्फ थ्री–डी इमर्सिभ साउन्ड सिस्टम जडान गरिएको छ । परम्परागत साउन्ड सिस्टमभन्दा फरक हरेक स्पिकरलाई स्वतन्त्र अडियो फिड दिने गरी ६४–च्यानल डल्बी एट्मस प्रविधि जडान गरिएको छ ।
हलको ओभरहेड र चारैतिर राखिएका स्पिकरहरू तथा सीपी (५ए) साउन्ड प्रोसेसरको मद्दतले १२८ वटासम्म साउन्ड अब्जेक्टलाई एकैपटक नियन्त्रण गरी दर्शकलाई चारैतर्फबाट वास्तविक ध्वनि अनुभव गराउने बिग मुभिजका चेयरम्यान राजेन्द्र अर्यालले जानकारी दिए । यी स्पिकरका कारण विशेषगरी एक्सन र साउन्ड इन्टेन्सिभ चलचित्रमा दर्शकले थप रोमाञ्चक अनुभव लिन पाउने उनको भनाइ छ ।
हलका सिटहरूलाई पनि आरामदायी बनाइएको छ । दर्शकलाई विशेष अनुभूति दिलाउन नयाँ लक्जरी तथा एर्गोनोमिक सिटिङ राखेको छ ।
‘दर्शकको सहजताका लागि २५५ वटा २२ इन्चका ‘च्याम्पियन सिरिज’ थिएटर कुर्सीहरू राखिएका छन् । यी कुर्सीमा एडभान्स एर्गोनोमिक्स, रिच ल्यामिनेटेड फेब्रिक र थ्री–पोजिसन लकिङ सुविधा छ,’ अर्यालले कम्पनीले आयोजना गरेको पत्रकार सम्मेलनमा भने ।
थप विलासी र आरामदायी अनुभवका लागि २९ वटा २९ इन्चका ‘रोयल लक्जुरिया’ क्रिम कलर रिक्लाइनरहरू जडान गरिएको छ ।
हलभित्र नयाँ कार्पेटिङ, अकोस्टिक वाल कभरिङ र आधुनिक लाइटिङको व्यवस्था गरी पूर्ण रूपमा नयाँ वातावरण तयार पारिएको उनको भनाइ छ ।
‘अब बिग मुभिजमा चलचित्र हेर्नु पर्दामा दृश्य हेर्नु मात्र हुने छैन, यो पूर्ण रूपमा कथा र वातावरणलाई महसुस गर्ने एउटा अविस्मरणीय अनुभव हुने विश्वास हामीले लिएका छौं,’ अर्यालले भने, ‘बिग मुभिजको यो कदमसँगै अब चलचित्र हेर्ने मात्र होइन, यसलाई महसुस नै गर्न पाइने भएको अवस्था बनेको छ ।’









