कटारी (उदयपुर)– उदयपुरको कटारी नगरपालिकामा मेडिकल कलेज स्थापनाको माग गर्दै सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाइएको छ । सरकारले विगतमा सातवटै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने प्रतिबद्धता जनाए अनुसार कोशी प्रदेशको कटारीमा कलेज स्थापनाको माग गरिएको हो ।

प्रधानमन्त्रीको कार्यालयमा पुगेर सर्वदलीय, सर्वपक्षीय टोलीले ज्ञापनपत्र बुझाएको हो । ‘यसअघि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट गठित अध्ययन टोलीले समेत कटारी–३ मा अध्ययन गरिसकेको छ,’ ज्ञापनपत्र बुझाउँदै कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले भने, ‘भौगोलिक, जनसंख्या तथा अन्य जिल्लासँगको अवस्थाले कटारी नगरपालिका मेडिकल कलेज स्थापनाका लागि उपयुक्त स्थान देखिन्छ ।’

सो अवसरमा प्रधानमन्त्री दाहालले मेडिकल कलेज स्थापना गर्न आफू सकारात्मक भएको जानकारी दिएकोे नगरप्रमुख श्रेष्ठले बताए ।

कटारी–३ मा मेडिकल कलेज स्थापनाका लागि सो टोलीले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई समेत ज्ञापनपत्र बुझाएको थियो । पत्र बुझ्दै राईले मेडिकल कलेज स्थापनाका लागि आवश्यक प्रक्रियाका कामको अवस्थाका बारेमा जानकारी लिनुभएको थियो । कटारीमा मेडिकल कलेज स्थापनाका लागि सिन्धुली, ओखलढुंगा, खोटाङ, सोलुखुम्बुका सांसदले समेत समर्थन गरेको जनाइएको छ ।

सिन्धुलीका सांसद राजन दाहाल, ओखलढुंगाका सांसद रामहरि खतिवडा, खोटाङका सांसद रामकुमार राईलगायत प्रदेश सभासदस्य, पालिकाका प्रमुखलगायतले समर्थन रहेको बताइएको छ । कटारीमा मेडिकल कलेज स्थापना भए सबै जिल्ला लाभान्वित हुने भएकाले समर्थन जनाएको सांसद अम्बरबहादुर रायमाझीले बताए ।

कटारी–३ मा मेडिकल कलेज स्थापना गर्न उपयुक्त हुने स्थान र पर्याप्त जग्गासमेत भएकाले कलेज स्थापनाका लागि आवश्यक सबै तयारी पालिकाले गर्ने कटारी उपप्रमुख गीता खड्काले बताए । यसका लागि सर्वदलीय, सर्वपक्षीय मेडिकल कलेज स्थापना समिति गठन गरी जग्गालगायत अध्ययनको काम भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय