काठमाडौं– नेपाल औषधि लिमिटेडले आजदेखि थप तीन प्रकारका औषधि उत्पादन सुरु गरेको छ । लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले आजदेखि सेन्ट्रिमाइन, एमजिट र एमजिट–डिएफ नामका औषधि उत्पादन सुरु गरेको जानकारी दिए ।
तीनै वटा औषधि ट्याबेलटमा छन् । एउटा औषधि दैनिक डेढ लाख ट्याबलेट उत्पादन गर्ने उनको भनाइ छ । यसअघि कम्पनीले जीवनजल, सिटामोल, फोलिक एसिड, हेमाडायलासिसका दुई प्रकार (झोल र प्याकेटमा), ग्लिसिरिन, डिस्ट्रिल वाटर र स्यानिटाइजरलगायत उत्पादन गरिरहेको थियो ।
‘सरकारले आर्थिक सहयोग गरेको खण्डमा हामी थप अरु औषधि पनि उत्पादन गर्न सक्छौं,’ उनले भने । महाप्रबन्धक पनेरुले सरकारले २० प्रकारका औषधि उत्पादनका लागि २४ करोड रुपैयाँ बजेट बिनियोजन गर्ने भने पनि सो बजेट प्राप्त नहुँदा औषधि उत्पादनमा समस्या भएको बताए ।
२०२९ सालमा स्थापना भएको कम्पनीले कुनै समय १२० प्रकारका औषधि उत्पादन गर्ने गरेको थियो । २०६२ सालमा उत्पादन बन्द भएपछि २०७४ सालमा पुनः सिटामोल उत्पादन गरी कम्पनी सञ्चालनमा ल्याइएको हो । आजदेखि सुरु तीन प्रकारका सहित कम्पनीबाट उत्पादन हुने औषधिको संख्या ११ पुगेको छ ।









