वीरगञ्ज (पर्सा)– राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई आफ्नो जीवनीसँग सम्बन्धित ‘महावीर पुन, सम्झना, सपना र अविरल यात्रा’ पुस्तक बिक्री गर्न भ्याइनभ्याइ छ । उनी पुस्तक बेच्न अनवरत दौडधुप गरिरहेका छन् । उनले दौडधुप गर्नुका पछाडि दुई दशकदेखि बन्द रहेको वीरगञ्जस्थित कृषि औजार कारखानालाई पुनः जीवन दिने उद्देश्य छ ।
‘मलाई त अहिले पुस्तक बिक्री गर्न भ्याइनभ्याइ छ । वीरगञ्जको कृषि कारखानाका लागि स्रोत जुटाउन देशव्यापी रुपमा पुस्तक बिक्री गर्दै आइरहेको छु,’ उनले भने, ‘बिहीबारदेखि वीरगञ्जमै पुस्तक बिक्री गर्न आएको छु । कृषि औजार कारखानालाई जसरी भए पनि सञ्चालन गर्ने अठोटसहित लागिपरेका छौं । त्यसैले अहिले देशव्यापी रुपमा पुस्तक बिक्री अभियानसहित हिँडिरहेको छु ।’
अध्यक्ष पुन देशव्यापी रुपमा पुस्तक बेचेर कारखानाका लागि कम्तीमा २० करोडको प्रबन्ध आफैं मिलाउने बताउँछन् । ‘पुस्तक बेचेरै २० करोड उठाउने जिम्मेवारी आफैं लिन्छु । तर त्यति रकमले मात्रै कारखानालाई चलायमान गराउन सकिँदैन,’ उनले भने, ‘मेरो अन्तर्राष्ट्रिय पदक र कास्कीको कालीकोटमा भएको २८ रोपनी जग्गा बेचेपछि कम्तीमा पनि १५ करोडजति आउला, अनि त कारखाना चलिहाल्छ ।’
अध्यक्ष पुनले कृषि औजार कारखानालाई पूर्ण रुपमा सञ्चालन गर्न कम्तीमा पनि ६०–७० करोड खर्च गर्नुपर्ने बताउँछन् । ‘केन्द्र आफैं यो वर्षभित्रै ५ करोड रुपैयाँ जतिको अत्याधुनिक मेसिन खरिद गर्ने तयारीमा जुटेको छ,’ उनले भने, ‘सरकारले पनि अत्याधुनिक खालका मेसिन खरिदमा सहयोगी भूमिका निर्वाह गरिदिए हुन्थ्यो । त्यसले कृषि औजार उत्पादनमा ठूलो महत्व राख्ने थियो ।’
अध्यक्ष पुनले सोभियत संघको पालामा सञ्चालनमा ल्याइएको कारखानामा निकै पुराना र म्यानुअल प्रकृतिका मेसिन रहेकाले अत्याधुनिक खालका मेसिन थप गर्न आवश्यक रहेको बताए ।
‘कारखानामा ६ दशकभन्दा पुराना खालका उपकरण र औजार छन् । ती उपकरण र मेसिन प्रयोग गरेर उत्पादन गरिने औजारले बजारसँग प्रतिस्पर्धा गर्नै सक्दैनन्,’ उनले भने, ‘अहिले त कम्प्युटर प्रणालीबाट चल्ने खालका ‘सिएनसी’ खालका अत्याधुनिक मेसिन ल्याएर औजार उत्पादन गर्नुपर्ने हुन्छ ।’
केन्द्रले अहिलेसम्म कम्तीमा पनि १ लाख ३० हजारभन्दा धेरै पुस्तक बिक्री गरिसकेको छ । जसबाट हालसम्म पुस्तक छपाइको खर्च नकटाइकन साढे ९ करोड रुपैयाँ भन्दा धेरै रकम संकलन भएको छ । पुनले कम्तीमा ३ लाख पुस्तक बेच्ने लक्ष्य राखेको छन् । उनको एउटा पुस्तकको मूल्य ७५० रुपैयाँ तोकिएको छ ।
तत्कालीन सोभियत संघको आर्थिक र प्राविधिक सहयोगमा वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनमा ल्याइएको थियो । कारखाना २०२४ फागुन २८ गते सञ्चालनमा आएको थियो । कारखानाले सुरुआती चरणमा कृषि औजार उत्पादन गरेर स्वदेशमा मात्रै होइन, विदेशमा निर्यात समेत गरेको थियो । तर कारखाना व्यवस्थापनमा भएका कमी कमजोरीले २०५९ मा कारखाना बन्द हुने अवस्थामा पुग्यो ।
२०५९ चैत ४ गतेको मन्त्रिपरिषद् बैठकले कारखाना खारेज गर्ने निर्णय गरेको थियो । सो निर्णयसँगै दुई दशकसम्म कारखाना अलपत्र अवस्थामा रहिरह्यो । यसैबीच, २०७९ भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकले दुई दशकदेखि बन्द अवस्थामा रहेको कृषि औजार कारखानाको व्यवस्थापन र सञ्चालनका लागि राष्ट्रिय अविष्कार केन्द्रलाई १० वर्षका लागि उपलब्ध गराउने निर्णय गरेसँगै कृषि औजार कारखाना फेरि चर्चामा आएको हो ।
२०७९ असोज ११ गते अर्थ मन्त्रालयका तत्कालीन सहसचिव रमेश केसी र राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गरेका थिए । केन्द्रले औपचारिक रुपमा काम सुरु भने २०७९ माघ महिनामा मात्रै थालेको हो । पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रको काँधमा कृषि औजार कारखाना आउँदा यसको हालत निकै दयनीय थियो ।
वीरगञ्जस्थित कृषि औजार कारखानाका इञ्चार्ज तथा इञ्जिनियर रितेश देव राष्ट्रिय अविष्कार केन्द्रले कारखानाको जिम्मेवारी लिँदा कारखाना भूतबंगला जस्तै भएको स्मरण गर्छन् ।
‘दुई दशकदेखि बन्द कारखानाभित्रै पीपलका बोट उम्रिएका थिए । जताततै माकुरोले जालो लगाएर हेर्नै नसकिने अवस्था थियो,’ उनले भने, ‘कारखाना त भूतबंगला जस्तै थियो । सुरुआती चरणमा त कसरी काम गर्न सकिएला र भन्ने लागेको थियो ।’
इञ्चार्ज देवका अनुसार कारखानामा भएका अधिकांश पुराना मेसिनलाई मर्मतसम्भार गरेर चल्न सक्ने बनाइएको छ । ‘कारखानामा साना ठूला गरेर ५५ वटा मेसिन छन् । तीमध्ये अहिले ५० वटा मेसिन चल्ने भइसकेका छन्,’ उनले भने । अहिले केन्द्रमा १५ जना कर्मचारीले नियमित रुपमा काम गर्दै आइरहेका छन् ।
केन्द्रमा यस्ता औजार बने
केन्द्रले दुई दशकदेखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २३ महिनाकै अवधिमा डेढ दर्जनजति कृषि औजार अनुसन्धान र विकास गरेर परीक्षण गरिसकेको छ । तर केन्द्रलाई सुरुआती ६ महिना समय त जीर्ण र अस्तव्यस्त रहेको कारखानाको सरसफाइ र मेसिन मर्मतसम्भारमा खर्च गर्नुपरेको थियो ।
कृषि औजार कारखाना वीरगञ्जका इञ्चार्ज देवले केन्द्रले छोटो अवधिमा नै डेढ दर्जनजति कृषि औजार अनुसन्धान र विकास गरेको दाबी गर्छन् । ‘हामीले गोबरबाट पानी निकाल्ने मेसिनको सफलतापूर्वक परीक्षण गरिसकेका छौं,’ उनले भने, ‘यो मेसिन व्यावसायिक रुपमा गाईभैंसीपालन गर्ने कृषकको आग्रहमा निर्माण गरेका हौं । यस्तै प्रकृतिको मेसिन भारतमा ५ लाखभन्दा धेरै पर्ने रहेछ । तर हामीले ३ लाख ६० हजारमै तयार पारेका छौं ।’
केन्द्रले पराल काट्ने, धान काट्ने (रिपर), दाना बनाउने, धान रोप्ने सानो (रिपर), घाँस खुर्किने र ड्याङ बनाउने मेसिन, खाल्डो खन्ने हाते औजार, आलु रोप्ने, गोड्ने, साना ट्याक्टरमा राख्ने कल्टिभेटर, हाते प्रेस मेसिन, प्लास्टिक ओछ्याउने र केराको फाइबर निकाल्ने, हाते औजारमा बञ्चरो, खुँडा, सानो कुटो कोदालीलगायत घरासयी प्रयोगका कृषि औजार तयार पारिसकेको छ ।
स्वदेशीभन्दा आयातीतलाई भन्सार छुट
केन्द्रका इञ्चार्ज देवले कृषि औजार निर्माणका लागि आवश्यक पर्ने कच्चा फलामको मूल्यभन्दा तयारी अवस्थाको कृषि उपकरण सस्तो हुँदा पनि औजार निर्माण खर्चिलो हुने गरेको गुनासो गरे । ‘तयारी अवस्थाका कृषि औजारमा एक प्रतिशतमात्रै भन्सार शुल्क लाग्ने गर्छ । तर औजार निर्माणका लागि आवश्यक पर्ने फलाम लगायत कच्चापदार्थ आयातमा कम्तीमा २० प्रतिशत पर्न जाने गर्छ,’ उनले भने, ‘विदेशमा बनाइएको तयारी कृषि औजारसँग स्वदेशमा निर्माण गर्ने औजारले प्रतिस्पर्धी बनाउन गाह्रो भइरहेको छ ।’
साउनको तेस्रो साता कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसहितको टोली कारखानाको अवलोकन गरेपछि मन्त्रालयमा आवश्यक छलफल गरेर उपयुक्त निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । ‘आविष्कार केन्द्रले जिम्मा लिएपछि यसको जीर्णाेद्धार भएको छ तर यो कारखाना पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन,’ उनले भने, ‘कृषि औजार कारखानालाई पूर्ण क्षमतामा सञ्चालन गरी नेपाली किसानलाई आवश्यक कृषि औजारको उत्पादन गरी स्वदेशी कृषि औजारको प्रयोगमा बढोत्तरी गराएर देशभित्र प्रयोग हुने कृषि औजारमा आत्मनिर्भर बनाउँदै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्न आवश्यक सहयोग पर्याउने विश्वास लिएको छु ।’









