काठमाडौं– गुल्मी, छत्रकोट–१, हुँगाका युवराज पाण्डे बिहान झिसमिसेमै तरकारी संकलन केन्द्रमा पुग्छन् । केन्द्रमा स्थानीय किसान तरकारी लिएर आइपुग्छन् । पाण्डेको बिहान कुन किसानले कुन तरकारी कति परिमाणमा ल्याए, त्यसको मूल्य कति हो, निर्धारण गरेर पठाउँदैमा बित्छ ।

किसानलाई आफूले ल्याएको तरकारीबाट कति कमाइ भयो भन्ने जानकारी घर नपुग्दै मोबाइलमा आइपुग्छ । कति तरकारी बिक्री गरेछु भन्ने हिसाब राख्नै पर्दैन । पाण्डेका अनुसार केन्द्रमा दैनिक औसतमा पाँच क्विन्टल तरकारी आउँछ ।

संकलन भएका तरकारी लिन केन्द्रमा सवारीसाधन आइपुग्छ । स्थानीय किसानका लागि दैनिक उपभोग्य सामान पनि संकलन केन्द्रमै उपलब्ध हुन्छ । किसानले कति मूल्यको तरकारी बिक्री गरे र त्यहाँबाट कति मूल्यको सामान लिएर गए भन्ने जानकारी पनि मोबाइलमै आउँछ ।

किसानलाई सामान उपलब्ध गराउँदै उनीहरूको तरकारी खरिदलगायतसम्मको कामको व्यवस्थापन ‘पैँचो पसल’ले गरिदिएको छ । आफूअनुकूलको सेवा सहजै प्राप्त हुँदा किसान पनि खुसी छन् ।

ग्रामीण क्षेत्रमा यो प्रचलन कम हुँदै गए पनि अझै पनि जीवित नै छ । आफूलाई चाहिएको सामग्री एकापसमा सरसापट गरेर लिने र काम चलाउने प्रक्रियालाई पैँचो भनिन्छ । त्यस्तै शैलीमा व्यवसायी ध्रुव न्यौपानेलगायतले पैँचो पसलको अवधारणा अगाडि सारेका हुन् ।

पाण्डे यो अभियानमा जोडिएको १० वर्ष भयो । गुल्मी छत्रकोटका अगुवा किसानको परिचय बनाएका उनी आफैंले पनि वार्षिक १० लाख रुपैयाँ बराबरको तरकारी बिक्री गर्छन् । उनले २ रोपनी जग्गामा तरकारीखेती गरेका छन् । गोलभेँडा, भिन्डी, बोडी, रातो मुला, तीतेकरेला बारीमा फलेका छन् । बजारको कुनै चिन्ता छैन । किसानलाई प्रत्यक्ष रूपमा उपभोक्तासँग जोड्ने र सरल मूल्यमा ताजा तरकारी एवं कृषि उपज उपलब्ध गराउने उद्देश्यका साथ सुरु भएको पैँचो पसलको अवधारणा यतिबेला देशव्यापी हुने क्रममा छ ।

सो अवधारणामा जोडिएका किसानलाई मल, बीउको प्रबन्ध गर्नेदेखि कृषि प्राविधिक उपलब्ध गराउने कामसमेत गरिएको छ । किसानले कुनै समस्या परे, पशुचौपायामा कुनै रोगव्याधी लागे प्राविधिक पुग्छन् र समाधानको उपाय सुझाउँछन् । यो अवधारणाबाट लाभान्वित हुनेमा गुल्मीकै सरोज राना पनि छन् ।

वैदेशिक रोजगारीमा पाएको दुःखकष्ट र हण्डर सबै बिर्सेर आफ्नै थलोमा फर्किएका रानाको दैनिकी यतिबेला तरकारी स्याहार्दै बित्ने गरेको छ । उनले सात रोपनी जग्गामा तरकारीखेती गरेका छन् । ‘हामीलाई यसले धेरै फाइदा भएको छ । उत्पादित तरकारी लिन गाउँमै गाडी आइपुग्छ । बिचौलियाले खाइदेला कि, कम मूल्यमा बेच्नुपर्यो कि भन्ने कुनै गुनासो छैन,’ उनले भने, ‘किसानले उत्पादन गरेको हरिया सागसब्जी उपभोक्ताको भान्छामा सहजै पुगेको छ । यो भन्दा खुसीको कुरा अरु के हुनसक्छ र ?’

उनको बारीमा यतिबेला सिमी, गोलभेँडा फलेका छन् । एक हजार बिरुवा सयपत्रीका छन् । तिहारमा सयपत्रीले राम्रो मूल्य पाउने आशामा रहेका राना बन्दा, काउली मुला, गाँजर पनि लगाउने तयारीमा छन् । इत्तेहाद एयरलाइन्सको रोजगारी भनेर साउदी अरब पुगे पनि ठेकेदारको काम गर्दा उचित पारिश्रमिक नपाएपछि घर फर्केर उनले सुरु गरेको तरकारीखेतीले गाउँमै केही गर्न सकिन्छ भन्ने आत्मबल बढाइदिएको छ ।

केन्द्रमा रानाजस्तै ३० जना किसान परिवारले तरकारी उपलब्ध गराउँछन् । गुल्मी सत्यवतीका लोकबहादुर कुँवर पैँचोको अवधारणा राम्रो भए पनि स्थानीय संकलन केन्द्रका मानिसको व्यवहार किसानमैत्री नभएको गुनासो गर्छन् । समयमा पैसा नपाएको गुनासो गर्ने कुँवरले पनि तरकारी पैँचोलाई नै बिक्री गर्छन् । उनको सुझाव छ, ‘किसानले प्राप्त गरेको पैसा सहज रूपमा पाउने वातावरण बनाइदिएहुन्थ्यो भन्ने लाग्छ ।’ घरपरिवारलाई चाहिने दाल, चामल तथा अन्य उपभोग्य वस्तु घरमै आइपुग्ने गरेको बताउने कुँवर किसानलाई थप राहत दिनेगरी योजना ल्याउन पैँचोका अभियन्तालाई आग्रह गर्छन् ।

छत्रकोट–४ रुक्सेका रामकृष्ण कँडेलको बारीमा तीते करेला, घिरौला, लौका, सिमी, कागती फलेका छन् । उनी सो गाउँको अगुवा किसानमात्रै नभई संकलन केन्द्रको प्रमुखसमेत हुन् । औसतमा दैनिक सात क्विन्टल बराबरको तरकारी उनको संकलन केन्द्रमा जम्मा हुने गरेको छ ।

उनी सबै किसानले गाउँघरमै उचित मूल्य पाएको दाबी गर्छन् । कँडेललाई सुरुमा पैँचो पसल अवधारणाप्रति विश्वास लागेको थिएन । उनले भने, ‘मलाई सुरुमा यो नहुने कामजस्तो लाग्थ्यो, पछि बुझ्दै जाँदा सहीजस्तो लाग्यो । पछि तरकारीखेती गर्न थालेँ, गाउँमै संकलन केन्द्र पनि स्थापना भयो,’ उनले भने, ‘अहिले संकलन केन्द्रको जिम्मेवारी नै लिएको छु । आफ्नो बारीमा फलेका तरकारी पनि ल्याउँछु । अरु किसानको पनि संकलन गर्छु ।’

हरेक दिन तरकारी जोख्ने, हिसाब राख्ने काम गर्ने गरेको जानकारी दिँदै कँडेलले यो अवधारणाले किसानलाई राहत प्रदान गरेको बताए। किसानले सबै जानकारी मोबाइलमा नै पाउने भएकाले पनि यो प्रणाली पारदर्शी रहेको उनको बुझाइ छ । हरेक तीन महिनामा किसानले आफूले बिक्री गरेको तरकारी र ल्याएको सामानको आफ्नो हिसाब पाउने गरेका छन् । यो सामान्य नियम भए पनि आवश्यक पर्दा किसानले जुनसुकै बेला पैसा पाउँछन् । तरकारी बिक्री गरेको पैसा बचत र किसानलाई राहत होस् भनेर यस्तो अवधारणामा काम गरिएको कँडेलको भनाइ छ ।

‘बजारमा एकाध दिन बढी मूल्य पाए पनि किसानले अन्यत्र लैजाँदैनन् । पैँचोले हरेक दिन तरकारीको मूल्य निर्धारण गर्छ । मूल्य निर्धारण गर्ने विधिमा माग र आपूर्तिलाई केन्द्रमा राखेर तथ्यांक विश्लेषण गरिन्छ । तय भएको मूल्यका आधारमा किसानलाई उपलब्ध गराइन्छ,’ उनले भने, ‘किसानले पैसा नपाएको भन्ने कुनै जायज गुनासो सुन्नुपरेको छैन ।’

गुल्मी, अर्घाखाँची, पाल्पा र स्याङ्जाका किसानले उत्पादन गरेको तरकारी, फलफूल, खाद्य उपज पैँचोको आफ्नै बजारमा पुग्छ । रुपन्देही, मणिग्राममा पैँचो बजार सञ्चालनमा छ । यस्तै गुल्मीको रुरुमा प्रशोधन केन्द्र सञ्चालनमा छ ।

प्रमुख न्यौपानेका अनुसार हरेक दिन १२ बजे अर्को दिनको मूल्य निर्धारण गरिन्छ । ‘हामीले विशेष प्रकारको सफ्टवेयर सञ्चालनमा ल्याएका छौं। त्यसबाट किसानले आफ्नो हिसाब मोबाइलमा नै जानकारी पाउँछन् । कृषि प्राविधिक, पशु प्राविधिक उपलब्ध गराएका छौं। हामीले किसानलाई केन्द्रमा राखेका छौं । किसान सबल हुँदै जाँदा हाम्रो व्यवसाय आफैंमा विस्तार हुन्छ ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय