लिस्बन– पोर्चुगलका पूर्वप्रधानमन्त्री जोस सोक्रेट्सविरुद्ध लामो समयदेखि भ्रष्टाचारको अभियोगमा चलाउन खोजिएको मुद्दा बिहीवार दर्ता गरिएको छ ।

सन् २००५ देखि २०११ सम्म देशको नेतृत्व गरेका सोक्रेट्समाथि प्रधानमन्त्री हुँदा ३ करोड ४० लाख युरो (४ करोड अमेरिकी डलर) भन्दा बढी सम्पत्ति आर्जन गरेको आरोप लागेको छ ।

अभियोजकहरूका अनुसार अन्य १८ जनासँगै मुद्दा चलाइएका पूर्वनेताले बाल्यकालका साथीलाई देशको सबैभन्दा ठूलो बैंक र दक्षिणमा रहेको पर्यटन परिसरको एक भवन समूहसँग सम्बन्धित योजनामा प्रयोग गरेको आरोप छ ।

सोक्रेट्स कानुनी कठिनाइहरूमा फसेका वरिष्ठ राजनीतिज्ञहरूको शृंखलामा पछिल्लो व्यक्ति हुन् । गतवर्ष प्रधानमन्त्री एन्टोनियो कोस्टाले आफ्ना एक मन्त्रीमाथिको अनुसन्धानमा प्रभाव पार्न खोजेको आरोप लागेपछि पदबाट राजीनामा दिएका थिए । उनको राजिनामापछि देशले मध्यावधि निर्वाचनको सामना गर्नुपरेको थियो ।

सोक्रेट्सलाई पहिलोपटक एक दशकअघि पक्राउ गरिएको थियो । उनले लामो समयदेखि आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् ।

‘मैले यो मुद्दाविरुद्ध वर्षौंसम्म लडेको छु । म मेरो अधिकारका लागि लडिरहेको छु,’ उनले बिहीवार अदालतबाहिर पत्रकारसँग भने । यो मुद्दा प्रमाणित गर्ने जिम्मा अभियोजकको हो ।
यो मुद्दा केही महिनासम्म चल्ने अनुमान गरिएको छ र अभियोजन पक्षले मात्र करिब २०० जना साक्षीलाई बोलाउने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय