काठमाडौं– प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको लिखित सिफारिसमा प्रधानमन्त्रीले आज साहलाई पदमुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
उचित तरिकाले जिम्मेवारी निर्वाह गर्न नसक्नेलाई फिर्ता बोलाउन सक्ने पार्टी विधानको व्यवस्था अनुसार उनलाई १४ दिनमै पदमुक्त गरिएको बताइएको छ ।
पार्टी सभापति लामिछानेले श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरूपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित काममा संलग्न गराएको भन्दै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए।
पार्टीको केन्द्रीय अनुशासन आयोगले यस विषयमा विस्तृत अध्ययन गरी साहलाई कारबाही गर्नुपर्ने प्रतिवेदन पार्टीसमक्ष पेस गरेको थियो।
मन्त्री साहको गतिविधिबाट पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामा गम्भीर आँच पुग्ने देखिएको निष्कर्षसहित रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री शाहसमक्ष आयोगको प्रतिवेदनसहित सिफारिस गरेका थिए।
सोही सिफारिसका आधारमा प्रधानमन्त्री शाहले श्रममन्त्रीलाई पदमुक्त गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
सोही विषयमा आफ्नो जिम्मेवारी निर्वाह गर्दा अपेक्षित गम्भीरता नदेखाएको भन्दै सभापति लामिछानेले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई सचेत गराउन प्रधानमन्त्री शाहसमक्ष सिफारिस गरेअनुरुप प्रधानमन्त्री शाहले मन्त्री मेहतालाई सचेत गराइसकेको स्रोतको भनाइ छ ।









