काठमाडौं– नेपालमा बिवाइडीका आधिकारिक वितरक तथा स्थानीय साझेदार साइमेक्स इंक प्रालिसँगको सहकार्यमा बिवाइडीले हालै आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा जिल्ला लगायतका क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड रुपैयाँ योगदान गर्ने घोषणा गरेको छ ।

बाढीप्रभावित क्षेत्रका नागरिकले कठिन परिस्थितिको सामना गरिरहेको यस समयमा बिवाइडी र साइमेक्सले नेपाली जनता तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता र प्रतिबद्धता व्यक्त गर्दै उक्त सहयोग घोषणा गरेको हो । सहयोग रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सरकारको आधिकारिक संयन्त्रबाट राहत तथा पुनःस्थापनाका कार्यमा परिचालन गरिनेछ ।

यो सहयोगबाट बाढी प्रभावित क्षेत्रमा सरकारद्वारा सञ्चालन भइरहेका उद्धार, उपचार, तत्कालीन राहत, पुनःस्थापना तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलगायतका कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, प्रभावित परिवार तथा समुदायलाई पुनः सामान्य अवस्थामा फर्किन र स्थानीय पूर्वाधार पुनर्निर्माण गर्न समेत सहयोग पुग्नेछ ।

हालैको बाढीका कारण रसुवा जिल्लामा ठूलो क्षति पुगेको छ । नेपाल र चीनलाई जोड्ने महत्त्वपूर्ण प्रवेशद्वारका रूपमा रहेको रसुवा मुलुकको व्यापारिक मार्गसमेत हो । नेपालमा बिवाइडीका सवारीसाधन आयात हुने प्रमुख व्यापारिक मार्गका रूपमा समेत यस क्षेत्रको विशेष महत्त्व रहेको छ ।

सहयोग घोषणा गर्दै बीवाइडी ग्रुपका उपाध्यक्ष तथा बिवाइडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ स्युएलियाङले नेपालमा हालै आएको बाढीका कारण भएको विनाश र जनताले भोग्नुपरेको कठिन अवस्थाप्रति बिवाइडी गहिरो दुःखी रहेको बताएका छन् । उनले यस कठिन समयमा प्रभावित परिवार तथा समुदाय, उद्धारमा खटिएका टोली र घटनास्थलमा निरन्तर काम गरिरहेका सबैप्रति बिवाइडीको ध्यान र सहानुभूति रहेको उल्लेख गरेका छन् ।

लिउले बिवाइडी नेपाली जनतासँग ऐक्यबद्ध भएर उभिएको र स्थानीय साझेदार साइमेक्ससँगको सहकार्यमा गरिएको यो सहयोगले सरकारका राहत तथा पुनस्र्थापनाका प्रयासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । उनले उक्त सहयोगले प्रभावित समुदायलाई पुनःउत्थान तथा पुनर्निर्माणमा समेत सहयोग पुग्ने अपेक्षा रहेको बताए ।

नेपालले कठिन परिस्थितिमा पनि उल्लेखनीय दृढता र सहनशीलता प्रदर्शन गर्दै आएको उल्लेख गर्दै उनले एकता र सामूहिक प्रयासमार्फत प्रभावित समुदाय अझ बलियो भएर पुनःउभिने विश्वास व्यक्त गरेका छन् । नेपालमा बिवाइडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले देशमा दिगो विद्युतीय यातायातको विकास र विस्तारका लागि बिवाइडीसँग लामो समयदेखि सहकार्य गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय