काठमाडौं– सरकारले अर्थतन्त्रसँग जोडिएका तीन प्रमुख सरकारी निकायमा बुधवार कार्यकारी प्रमुख नियुक्त गरेको छ । सरकारले नेपाल बीमा प्राधिकरणमा अध्यक्ष तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से) र निक्षेप तथा कर्जा सुरक्षण कोषमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको हो ।
सरकारले बीमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापालाई, नेप्से सीईओमा प्रताप सुवेदीलाई र कोषको सीईओमा पिताम्बर भण्डारीलाई नियुक्त गरेको छ । अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिशका आधारमा मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई नियुक्त गरेको हो
थापालाई मन्त्रालयमा बुधवार आयोजित एक कार्यक्रममा अर्थमन्त्री वाग्लेले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
थापा बैंकिङ क्षेत्रका विज्ञ हुन् । उनी नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागमा निर्देशक थिए ।
नेप्सेको सीईओ बनेका सुवेदी कृषि विकास बैंकमा उपमहाप्रबन्धकसम्म भइसकेका व्यक्ति हुन् । उनले केही समय कृषि विकास बैंकमा कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीसमेत सम्हालेका थिए ।
निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओ बनेका भण्डारी नेपाल राष्ट्र बैंकमा करीब २५ वर्ष काम गरेका व्यक्ति हुन् । गत वर्षसम्म उनी राष्ट्र बैंकमा कार्यकारी निर्देशक थिए ।









