काठमाडौं– नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनको मिति परिमार्जन गर्दै आगामी मंसिर २७ देखि २९ गतेसम्म गर्ने गरी नयाँ कार्यतालिका प्रस्ताव गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले महाधिवेशनको नयाँ मितिसँगै निर्धारित समयमा हुन नसकेको बाँकी अधिवेशनको कार्यतालिका पनि तय गरेको समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।
नयाँ तालिकाअनुसार हालसम्म वडा अधिवेशन प्रारम्भ हुन नसकेका १३ जिल्लाको अधिवेशन यही कात्तिक २७ गतेदेखि प्रारम्भ गर्ने तय गरिएको छ । यसैगरी, जिल्ला अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन मङ्सिर १० गते तथा प्रदेश अधिवेशन मंसिर १६ र १७ गते गर्ने तय गरिएको उनले बताए ।
कांग्रेसले यसअघि महाधिवेशन मिति मंसिर ९ देखि १३ गतेसम्म निर्धारण गरिएको थियो । पार्टीले गत भदौ १८ गतेदेखि वडा अधिवेशन प्रारम्भ गरेको थियो । हालसम्म १३ हिमाली जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ ।
यसबाहेक ४७ जिल्लामा पालिकास्तरको अधिवेशन सम्पन्न भइसकेको र बाँकी चार जिल्लामा वडा अधिवेशन सम्पन्न भई केहीबाहेक पालिकास्तरको अधिवेशन सम्पन्न भएको संयोजक यादवले बताए ।









