सिड्नी– अस्ट्रेलियाले दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट भित्रिन नदिन नाकाबन्दी गर्न सक्ने जनाएको छ ।

अस्ट्रेलियाका स्वास्थ्यमन्त्री जर्ज हन्टले नयाँ संस्करणको कोरोना भाइरसबारे अध्ययन भइरहेको र विज्ञ तथा सरोकारवालाको सुझावका आधारमा सीमा वारपार आवातजावतका बारेमा निर्णय गरिने बताएका छन् ।

‘सरकारले सीमा क्षेत्रमा प्रतिबन्धात्मक केही नयाँ व्यवस्था गर्न सक्छ, यस बारेमा अध्ययन र छलफल भइरहेको छ,’ उनले भने ।

पत्रकारहरुसँगको अन्तरक्रियामा उनले नौ दक्षिण अफ्रिकी मुलुकबाट अस्ट्रेलियामा हुने सबै उडान पनि बन्द गर्ने सम्भावना रहेको पनि बताए ।

उनका अनुसार सरकारले दक्षिण अफ्रिका, नामिबिया, जिम्बावे, बोत्सवाना, मालावी, मोजाम्बिक लगायत देशबाट अस्ट्रेलिया आउने उडान रद्द गर्ने सम्भावना छ ।

तत्कालका लागि भने ती देशबाट आउनेलाई उच्च सतर्कताका साथ जाँच गर्न र कुनै संक्रमण र खतरा छैन भन्ने सुनिश्चितता गर्न निर्देशन दिइसकिएको पनि उनले बताए । त्यसैगरी, अस्ट्रेलियाको नागरिक नभएको, अस्ट्रेलिया निवासी नभएको, आश्रितहरु अस्ट्रेलियामा नभएको लगायतलाई प्रवेशमा रोक लगाइसकिएको पनि स्वास्थ्य मन्त्री हन्टले जानकारी दिएका छन् ।

तर अस्ट्रेलियाको नागरिक भएको, अस्ट्रेलिया निवासी भएको, आश्रितहरु अस्ट्रेलियामा भएको लगायतलाई भने प्रवेश गर्न दिइए पनि कम्तीमा १४ दिन क्वारेन्टिन अनिवार्य रुपमा बस्नुपर्ने व्यवस्था गरिएको छ ।

स्वास्थ्यमन्त्री हन्टले अहिलेसम्म अस्ट्रेलियामा कोरोना भाइरसको नयाँ संस्करण ओमिक्रोन नभेटिएको दाबी पनि गरे ।
तर पुरानै संस्करणको संक्रमण भने अझै पनि फैलिइरहेको छ । पछिल्लो २४ घन्टामा अस्ट्रेलियामा एक हजार ४०० भन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय