जेनेभा– विश्व स्वास्थ्य संगठनले दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ संस्करण पुष्टि भएपछि खतराको घन्टी बजाएको स्विस फेडरल अफिस अफ पब्लिक हेल्थ (एफओपिएच) ले जनाएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार दक्षिण अफ्रिकामा पत्ता लागेको नयाँ कोभिड–१९ संस्करण बी.१.१.५२९ लाई ओमिक्रोन नाम दिएको छ । ‘कोरोना भाइरस भर्खरै पत्ता लागेको भेरियन्ट बी.१.१.५२९ चिन्ताको विषय हो । यसमा अन्य डरलाग्दो भेरियन्टबारे विज्ञानले थाहा पाएको भन्दा धेरै उत्परिवर्तनहरू छन् ।
संगठनले यो नयाँ संस्करणलाई अत्यन्तै चिन्ताजनक रूपमा लिँदै उक्त टिप्पणी गरेको हो । हाल प्रचलनमा रहेका कोरोना भाइरस खोपहरू नयाँ भेरियन्टविरूद्ध कम प्रभावकारी हुन सक्ने पनि जनाइएको छ । नयाँ भेरियन्ट ‘डेल्टा’भन्दा पनि बढी संक्रामक हुन सक्ने प्रक्षेपण गरिएको छ ।
डब्ल्यूएचओका प्रवक्ता क्रिस्चियन लिन्डमेयरले बैठकपछि प्रारम्भिक विश्लेषणले यस संस्करणमा ठूलो संख्यामा उत्परिवर्तनहरू आएको र त्यसबारे थप अध्ययन गरिने बताए ।









