काठमाडौं– देशभर कोरोना भाइरसका नयाँ संक्रमित थपिनेभन्दा संक्रमणमुक्त हुनेको संख्या दोब्बर भएको छ ।

पछिल्लो २४ घन्टामा तीन हजार ६३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. संगीताकौशल मिश्राले ११ हजार ५८२ परीक्षण गर्दा ३ हजार ६३७ नमुनामा संक्रमण पुष्टि भएको जानकारी दिइन् ।

यस्तै संक्रमणमुक्त हुने संख्या सात हजार ५५५ पुगेको उनले जानकारी दिइन् । हालसम्म ८ लाख ७८ हजार ७२० जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ६९ हजार २९१ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा मिश्राले पछिल्लो २४ घन्टामा १२ जनाको कोभिड–१९ बाट निधन भएको जानकारी दिइन् । योसँगै मृतक संख्या ११ हजार ७६४ पुगेको छ ।

यस्तै ५०० भन्दा बढी संक्रमित भएको जिल्ला १६ पुगेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, सिराहा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही, र कैलालीमा पाँच सयभन्दा बढी संक्रमित छन् ।

हाल होम आइसोलेसनमा ६७ हजार ८२५, संस्थागत आइसोलेसनमा १ हजार ४६६, सघन उपचार कक्षमा २७० र भेन्टिलेटरमा ५२ जनाको उपचार भइरहेको छ ।

बुधबार करिब आठ लाखले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । यस्तै अहिलेसम्म कोरोना भाइरसविरुद्धको बुस्टर डोज ४ लाख ८४ हजार ४७९ मात्रा लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय