लिवाङ– रोल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा केशवकुमार आचार्य निर्वाचित भएका छन् । आचार्यले प्रतिद्वन्द्वी वसन्त सुवेदीलाई तीन मतले हराउँदै अध्यक्ष निर्वाचित भएका हुन् ।
निर्वाचन अधिकृत तुलसी जिसीका अनुसार आचार्यले ४३७ प्राप्त गर्दा सुवेदीले ४३४ मत पाए । एक हजार २१८ मतदाता रहेको संघको निर्वाचनमा ९८५ मत खसेको थियो । मंगलबार भएको मतदानको अन्तिम परिणाम राति अबेर घोषणा भएको थियो ।
सदस्यमा अशोक आचार्य, इन्द्रबहादुर महरा, ऋषिराम रिजाल, चन्द्रबहादुर बुढा, दीपककुमार श्रेष्ठ, विशेष घर्ती क्षेत्री, रञ्जु पोख्रेल, शिवराज आचार्य र सुरेन्द्र थापा निर्वाचित भएका छन् ।
संघको दुई उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । गत माघ ४ गतेका लागि तय भएको निर्वाचन कार्यक्रम कोरोना महामारीले स्थगित भएको थियो ।









