काठमाडौं– मिर्गौला प्रत्यारोपण सम्भव भए पनि दाता नहुँदा समस्या परेका बेला आफन्तबाहेकले पनि अंग दान गर्न पाउने कानुनी व्यवस्था आवश्यक रहेको बहस सुरु भएको छ ।
नेपालको कानुनमा रहेको आफन्तबाहेकले मिर्गौला दान गर्न नपाउने प्रावधान संशोधन भएमा बढ्दो मिर्गौला रोगीको उपचार सहज हुनेछ ।
नेपालमा बढ्दो मिर्गौला रोगीको उपचार स्वदेशमै सम्भव भए पनि दाता नहुँदा धेरैले प्रत्यारोपको अभावमा ज्यान गुमाउने गरेका छन् । आफन्त बाहेकले मिर्गौला दान गर्न नपाउने कानुन संशोधन गरेमा भने दाताको संख्या उल्लेख्य हुने र मिर्गौला रोगीका लागि बरदान साबित हुनेछ ।
विश्व मिर्गौला दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत किष्ट मेडिकल कलेजले सोमबार गरेको कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले यस्तो कानुन संशोधन गरी बाधा फुकाउन सरकार तयार रहेको बताए । आफन्त बाहेकले मिर्गौला दान गर्न नपाउने प्रावधान संशोधन भएमा बढ्दो मिर्गौला रोगीको उपचार अझै सहज हुन उनको भनाइ छ ।
मिर्गौला रोगीका निम्ति जीवनदानका लागि अंगदानमा प्रोत्साहित गर्नुपर्ने किष्ट मेडिकल कलेजका प्राचार्य प्रा. डा. बालमानसिंह कार्की बताउँछन् ।
मिर्गौला दाता नहुँदा प्रत्यारोपण गर्न विदेश जानुपर्ने बाध्यता कायमै रहेको भन्दै मृत्युपश्चात अंगदानप्रति जनचेतना जगाउनु आवश्यक रहेको डा. दिव्या सिंह शाहले बताइन् ।
मस्तिष्क मृत्युपश्चात अंगदानलाई सरल र सहज बनाउनेतर्फ स्वास्थ्य मन्त्रालयले काम गरिरहेको सचिव डा. रोशन पोखरेलको भनाइ छ ।
कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले उपचार पद्धतिमा विज्ञान प्रविधिले थपेको आयाम प्रयोगले स्वास्थ्य क्षेत्रमा ठूलो विकास भएको बताए ।
उच्च रक्तचाप, मधुमेहजस्ता रोगका साथै तनाबग्रस्त जीवनशैली र अस्वस्थकर खानपिनले मिर्गौला बचाउनु चुनौतीपूर्ण बनेकाले यसतर्फ सतर्क रहनुपर्ने सुझाव चिकित्सकको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा हालसम्म ३० लाख मानिसमा मिर्गौलाको समस्या रहेको र वर्षेनी ३ हजार जनाको मिर्गौला फेल हुने गरेको छ ।
हालसम्म २५ सयजनामा मिर्गौला प्रत्यारोपण भइसकेको छ भने ७ हजारजना डाइलासिस गराएर प्रत्यारोपणको पर्खाइमा छन् ।









