प्योङयाङ– उत्तर कोरियाले हालसम्मकै सबैभन्दा ठूलो अन्तरमहाद्विपीय ब्यालिस्टिक क्षेप्यास्त्र (आइसिबिएम) सफलतापूर्वक परीक्षण गरेको जनाएको छ ।
उत्तर कोरियाले सन् २०१७ पछि प्रतिबन्धित आइसिबिएम परीक्षण गरेको पहिलो घटना हो । आइसिबिएम लामो दूरीका क्षेप्यास्त्र हुन् । र ती क्षेप्यास्त्रले उत्तर कोरियाबाटै अमेरिकाको जुनसुकै भागमा मार हान्न सक्ने बिबिसीले जनाएको छ ।
सन् २०१७ मा यही प्रकृतिको क्षेप्यास्त्र परीक्षण गरेबापत विभिन्न नाकाबन्दीको सामना गरिरहेको छ । उत्तर कोरियाली सरकारी सञ्चार माध्यमहरुले नेता किम जोङ–उनले उक्त हतियार परीक्षणका लागि निर्देशन दिएको र यो आणविक युद्ध निस्तेज पार्ने साँचो भएको जनाएको छ ।
ह्वासोङ–१७ नाम दिइएको राक्षस क्षेप्यास्त्र आइसिबिएम सन् २०२० मा उत्तर कोरियाली सैन्य परेडमा सार्वजनिक गरिएको थियो । यसको विशाल आकारले उत्तर कोरियाली हतियार भण्डारको विश्लेषकहरुलाई चकित पारेको थियो ।
कार्नेजी इन्डोमेन्ट फर इन्टरनेसनल पिसका अंकित पान्डाले बिहीबारको अस्त्र परीक्षणलाई उत्तर कोरियाको आणविक हतियार भण्डारको महत्त्वपूर्ण कोशेढुंगा भनेका छन् ।
उनले यसलाई उत्तर कोरियाको अस्त्र भण्डारको सबैभन्दा ठूलो क्षेप्यास्त्र भनेका छन् । यसले थुप्रै वारहेडहरु बोक्न सक्छ ।
बिहीबारको क्षेप्यास्त्र परीक्षण जापान र दक्षिण कोरियाको सेनाले पनि थाहा पाएका थिए । जापानी अधिकारीले उक्त हतियार ६ हजार किलोमिटरको उचाइसम्म एक घन्टाभन्दा बढी समय उडेर जापानको पानीमा खसेको जनाएका छन् ।
उक्त क्षेप्यास्त्र ह्वासोङ–१५ भन्दा बढी उचाइमा पुगेको थियो । सन् २०१७ मा परीक्षणका क्रममा ह्वासोङ–१५ चार हजार ५०० किलोमिटरसम्मको उचाइमा पुगेको थियो ।
विज्ञहरुले ह्वासोङ–१५ लाई स्ट्यान्डर्ड उडान अन्तर्गत प्रहार गरेको खण्डमा १३ हजार किलोमिटर परसम्म पुगन सक्ने बताएका थियो । यसको अर्थ उत्तर कोरियाबाट अमेरिकाको जुनसुकै भागमा प्रहार गर्न सकिन्छ । नयाँ क्षेप्यास्त्र त्योभन्दा पनि पर पुग्न सक्ने बताइएको छ ।
उत्तर कोरियाले अमेरिकाबीच शत्रुतापूर्ण सम्बन्ध भएकाले उसले नयाँ र शक्तिशाली हतियार विकास गर्दा अमेरिकाको टाउको दुख्ने गर्छ ।









