कोलोम्बो– दशकौंपछिको सबैभन्दा खराब आर्थिक संकटको व्यवस्थापन गर्ने सरकारको कार्यशैलीको सर्वसाधारणबाट चर्को विरोध भइरहँदा श्रलिंकाली मन्त्रिपरिषदका सदस्यहरुले सामूहिक राजीनामा दिएका छन् ।
मन्त्रिमण्डलका सबै २६ सदस्यले राजीनामा बुझाएका छन् । प्रधानमन्त्री महिन्दा राजापाक्ष र राष्ट्रपति रहेका उनका भाइ गोताबाया राजापाक्षले भने राजीनामा दिएका छैनन् ।
आक्रोशित प्रदर्शनकारीले भने राजापाक्ष परिवारकै राजीनामा मागेका छन् । उनीहरुले मन्त्रीहरुको राजीनामालाई अर्थहीन भनेका छन् । आइतबार कैयौं सर्वसाधारण कर्फ्यु तोडेर सडकमा उत्रेका थिए । श्रीलंका सन् १०४८ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएयताकै सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको छ ।
श्रीलंकाले पछिल्लो समय विदेशी मुद्राको अभावले अत्यावश्यक इन्धन समेत पर्याप्त मात्रामा आयात गर्न सकेको छैन । दैनिक लोड १२ घन्टा लोडसेडिङ तथा बजारमा खानेकुरा, इन्धन, औषधी जस्ता वस्तुको अभावले सर्वसाधारणको आक्रोश नयाँ उचाइमा पुगेको छ ।
शिक्षामन्त्री दिनेश गुणवर्दनाका अनुसार मन्त्रीमण्डलका सदस्यहरुले प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका छन् । राजीनामा दिनेमा प्रधानमन्त्रीकै छोरा नमाल राजापाक्ष पनि छन् ।
श्रीलंकाली सर्वसाधारणले यो संकटको जिम्मेवार राष्ट्रपति र उनको परिवारलाई मानेका छन् ।









