काठमाडौं– गिरिजाप्रसाद कोइराला फाउन्डेसनको आयोजनामा काठमाडौंको बूढानीलकण्ठमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । फाउन्डेसन, नेपाली कांग्रेस बूढानीलकण्ठ नगरपालिका कार्यसमिति र ४ नम्बर वडा कार्यसमितिको आयोजनामा वडा नं. ४ मै शिविर सम्पन्न भएको हो ।
कार्यक्रममा चार सयजनाले निःशुल्क स्वास्थ्य सेवा लिएको आयोजकले जनाएको छ । ४ नम्बरका वडासदस्य श्रीराम केसीका अनुसार कार्यक्रममा काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा उपलब्ध गराएका थिए । शिविरमा बालरोग, नाक, कान, घाँटी, स्त्रीरोग, शल्यक्रिया, हाडजोर्नी, आँखा र दाँतको निःशुल्क परीक्षण गरिएको थियो ।
त्यस्तै, शिविरमा इसिजी, एक्स–रे, भिडियो एक्स–रे तथा रगत र पिसाबको निःशुल्क परीक्षण गरिएको थियो । स्वास्थ्य शिविरमा काठमाडौं मेडिकल कलेजले ल्याबको व्यवस्था गरेको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा कांग्रेस क्षेत्र नम्बर ५ का सभापति श्यामबहादुर खड्का, कांग्रेस क्षेत्र नम्बर ५ (ख)का सभापति तथा ४ नम्बर वडाध्यक्ष राजु खड्का र वडा नम्बर ४ का कांग्रेस सभापति श्याम खड्कालगायतको उपस्थिति रहेको थियो ।









