काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिका, वडा नम्बर ७ को वडा अध्यक्षका प्रत्यासी इन्जिनियर रमेश केसीले गरेर देखाउन आफूहरुले उम्मेदवारी दिएको बताएका छन् । त्यसका लागि आफूहरुसँग वस्तुवादी भिजन र कार्ययोजना रहेको बताए ।
केसीको टिममा विराज श्रेष्ठ र सञ्जोग श्रेष्ठ जस्ता सशक्त युवाहरु छन् । श्रेष्ठद्वयले वडा सदस्यमा उम्मेदवारी दिएका छन् ।
‘हामी अरु जस्तो आश्वासन बाँड्दैनौं, सक्ने कुरामात्र गर्छौं, नसक्ने र हावादारी कुरा गर्दैनौं, बोलेको कुरा पूरा गर्न सकिएन भने समाजमा कसरी मुख देखाउने ?’ इन्जिनियर केसीले भने । वडा नम्बर ७ मा स्वतन्त्र उम्मेदवारको पक्षमा माहोल बन्दै गएको दाबी गरेका केसीले अघिल्लो पुस्ताका मतदाताले समेत युवा पुस्ताका उम्मेदवारहरुलाई साथ दिएको बताए ।
‘उहाँहरुले पुराना ढर्राका धेरैलाई झेलिसक्नुभएको छ, त्यसैले होला नयाँ पुस्ताका उम्मेदवारप्रति उहाँहरु निकै सकारात्मक र आशावादी हुनुहुन्छ,’ केसीले भने ।
पुरानै सोच बोकेका उम्मेदवारहरुलाई जस्तो छुट युवा पुस्ताका उम्मेदवारलाई नभएको बताउँछन् केसी । ‘हामी त केही गरेर देखाउनुपर्ने उमेरका व्यक्ति हौं,’ उम्मेदवार केसीले भने, ‘हाम्रो असफलतामा सिंगो समाज हार्छ, हाम्रो सफलतामा लाभान्वित हुन्छ ।’
आफ्नो वडालाई उपत्यकाकै नमूना वडाको रुपमा स्थापित गर्ने योजनाका साथ मैदानमा उत्रेको पनि उनले बताए । ‘हामीले मौका पायौं भने वडाबासीलाई उत्कृष्ट नगरमा बसेको अनुभूति दिलाउनेछौं,’ केसीले भने । आफूले जिते वडावासीलाई वास्तविक लोकतन्त्रको अनुभूति गराउने पनि उनले बताए ।
उक्त वडाको वडा अध्यक्षमा इन्जिनियर केसी तथा वडा सदस्यमा विराज श्रेष्ठ र सञ्जोग श्रेष्ठले उम्मेदवारी दिएका छन् । भिजनसहितका युवाहरुको टिम नै बनाएर चुनावी मैदानमा उत्रेको केसीको भनाइ छ ।









