बागलुङ– धौलागिरि अस्पतालमा पहिलोपटक दूरबिन प्रयोग गरी शल्यक्रिया गरिएको छ । दूरबिनको प्रयोगबाट बागलुङ नगरपालिका–१२ अमलाचौरकी २९ वर्षीया महिलाको अण्डासयमा जमेको पानी निकालिएको हो । अस्पतालका चिकित्सक केशव आचार्य नेतृत्वको समूहले उक्त शल्याक्रिया गरेको हो ।
पहिलो प्रयास नै सफल भएपछि अब दूरबिनद्वारा शल्यक्रिया गर्ने काममा हौसला मिल्ले डा आचार्यले बताए । शल्यक्रिया गराएकी महिलाको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।
‘दूरबिन प्रयोग गरेर शल्यक्रिया गर्दा पेटमा ठूलो घाउ पार्नु पर्दैन,’ उनले भने, ‘यसबाट बिरामी छिट्टै निको हुने, घाउ पाक्ने जोखिम पनि कम हुने र समयका हिसाबले पनि छिटोछरितो हुने हुन्छ ।’
शल्यक्रियामा डा केशव आचार्य, डा सजिन कुँवर, डा प्रज्ज्वल पौडेल, डा गणेश वन र नर्स शर्मिला शर्माको समूह सहभागी थियो । ‘हामीले ढुक्क भएर काम गरेका थियौं, बिरामी जोखिममा थिएन,’ डा. आचार्यले भने, ‘नयाँ प्रविधि भएकाले यो पहिलो प्रयास जोखिमपूर्ण हुने नै भयो ।’
यसकोे सुरुआतसँगै समान्य र जटिल सबै खालका शल्यक्रियामा सहयोगी बन्ने उनले बताए । धौलागिरि अस्पतालबाटै यो सेवा सुरु भएकाले बागलुङ, पर्वत, म्याग्दीका बिरामीलाई अब पोखरा काठमाडौं जाने झन्झट कम हुने भएको छ ।









