पोखरा– कास्कीको पोखरा महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य र उपप्रमुखमा नेकपा (एमाले) की मञ्जुदेवी गुरुङ निर्वाचित भएका छनु ।
अन्तिम मतपरिणामअनुसार प्रमुखमा आचार्यले एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मत अन्तरले पराजित गरेका छनु । आचार्यले ५८ हजार ८९३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी थापाले ५२ हजार ८४८ मत ल्याएका छन् ।
यसैगरी प्रमुखका अर्का उम्मेदवार राप्रपाका शंकर खरालले पाँच हजार ६७४, स्वतन्त्र खडकराज पौडेलले तीन हजार ३०, मंगोल नेसनल अर्गनाइजेसनका प्रेमप्रसाद गुरुङले ५४६ र विवेकशील साझाका सुशीला केसीले ३३८ मत प्राप्त गरे । पोखराको प्रमुखमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २० उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए ।
उपप्रमुखमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गर्दै एमालेकी गुरुङ दोस्रो कार्यकालका लागि विजयी भइन् । गुरुङले ६० हजार ५४६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी रानाभाटले ५६ हजार ६६३ मत ल्याइन् ।
उपप्रमुखमा राप्रपाका रञ्जनाकुमारी सेन पौडेलले पाँच हजार ६९९, विवेकशील साझाका माधव भण्डारीले २६४ र आमुल परिवर्तन मसिया पार्टीका पदमबहादुर गुरुङले १३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपप्रमुखमा राजनीतिक दल तथा स्वतन्त्र गरी आठ उम्मेदवार चुनावी मैदानमा थिए ।
पोखरा महानगरका ३३ वडामध्ये कांग्रेसले २३, एमालेले नौ र वडा नं २२ मा स्वतन्त्र उम्मेदवार हिमलाल बराल निर्वाचित भए । २०७४ को पहिलो स्थानीय तह निर्वाचनमा प्रमुख, उपप्रमुखसहित २२ वडा एमाले जितेको थियो ।









