तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिकाको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । जम्मा ७४ हजार ३३६ मत खसेकामा आज बिहान ७ बजेसम्म ७१ हजार १६६ मत गणना सकिएको छ । अब तीन हजार १७० मत गन्न बाँकी छ । अहिलेसम्मको मत परिणामअनुसार नगरप्रमुखमा नेकपा (एमाले)का टीकाराम खड्का तीन हजार ३६६ मतले अघि छन् ।
खड्काले ३० हजार ३५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २६ हजार ६६९ मत प्राप्त गरेका छन् । तुलसीपुरमा एमालेले सुरुदेखि अग्रता लिँदै आएको छ । उपप्रमुखमा पनि एमालेकै उम्मेदवार स्यानी चौधरी फराकिलो मतान्तरले अघि छिन् । उनले निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का जोगबहादुर रानालाई नौ हजार २०१ मतान्तरले पछि पारेकी छिन् । चौधरीले २९ हजार ३४५ र रानाले २० हजार १४४ मत प्राप्त गरेका छन् ।
१९ वडामध्ये अहिलेसम्म १७ वडाको नतिजा सार्वजनिक भइसकेको छ । अहिले वडा नं १७ र १९ को मतगणना भइरहेको छ । तुलसीपुरमा यसअघि पनि एमालेले नै जितेको थियो । तुलसीपुरमा १ लाख १ हजार ४६० मतदाता रहेकामा ७४ हजार ३३६ मत खसेको थियो ।









