बाजुरा– बूढीगंगा नगरपालिकामा सातजना वडा अध्यक्षसहित मेयर र उप मेयरमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
मेयरमा एमालेका रामबहादुर बानियाँ र उपमेयरमा मायाकुमारी खड्का (कुँवर) निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । मेयरमा बानियाँले ४ हजार ७७७ र उनका प्रतिद्वन्द्वी रंगबहादुर खातीले ३ हजार ७७४ मत पाएका थिए ।
यसैगरी, उपमेयरमा निर्वाचित एमाले उम्मेदवार कुँवरले ४ हजार ७२७ र प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रिता शाही (शाह) ले ३ हजार ७५५ मत पाए । १० वटा वडा रहेको बूढीगंगाको ७ वडामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भए । बाँकी वडा नेपाली कांग्रेसले पाएको छ ।
वडा १, २, ३, ५, ६, ९ र १० मा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् । वडा नम्बर ४, ७ र ८ मा काँग्रेसका उम्मेदवार निर्वाचित भए । वडा नम्बर १ मा नेकपा एमालेका रणबहादुर थापा, २ मा पदमबहादुर भण्डारी, ३ मा खडकबहादुर अधिकारी, ५ मा चक्रबहादुर थापा, ६ मा हेमराज जैसी, ९ मा मीनबहादुर सिंह र १० दलबहादुर साउद विजयी भएका छन् ।
नेपाली कांग्रेसका तर्फबाट वडा नम्बर ४ मा मीनबहादुर शाह, ७ मा भुवनसिंह केसी र ८ मा रमेशबहादुर रावल निर्वाचित भए । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा बुथ कब्जा भएको भन्दै निर्वाचन आयोगले बूढीगंगामा दोस्रोपटक निर्वाचन गरेको हो । दोस्रो पटकको मतदानमा ९ हजार १२८ मत खसेको थियो ।









