काठमाडौं– आइडिया स्टुडियो नेपालले आफ्नो वार्षिक कार्यक्रम ‘कलेज आइडिया हन्ट २०२२’ को लागि आवेदन खुला गरेको छ । बिहीबार बागबजारस्थित काठमाडौं मोडल कलेजमा पत्रकार सम्मेलनको आयोजना गर्दै आवेदन खुलाएको घोषणा गरेको हो ।

नेपाली समाजको रुपान्तरण र व्यावसायिकताको प्रवर्द्धनमा क्रियाशील आइडिया स्टुडियोले उच्च शिक्षा अध्ययन गरिरहेका तथा नयाँ योजना र आइडियासहित सो उद्यम गर्ने सोच बनाएका विद्यार्थीहरुलाई लक्षित गरी कलेज आइडिया हन्ट २०२२ को आयोजना गरेको हो । वर्तमान युग र समयसापेक्ष समस्या र अवसरहरु सम्बन्धित नवीनतम तथा दिगो समाधान सहितका आइडिया भएका विधार्थीहरुले कलेज आइडिया हन्टमा आफ्नो योजना पठाउन सक्नेछन् ।

उक्त कलेज आइडिया हन्टको पत्रकार सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाको उपस्थिति रहेको थियो । कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत अतिथि वक्ताको रुपमा उपस्थित थिए ।

यसैगरी त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका उपनिर्देशक डा. गंगाराम विश्वकर्मा, वर्ल्ड वाईल्डलाइफ फन्ड नेपालका देश प्रतिनिधि डा. घनश्याम गुरुङ, आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामा, कलेज आइडिया हन्ट २०१९ का विजेता जोसेप श्रेष्ठ, आइडिया स्टुडियो सिजन ४ कि आइडिएटर आङडोल्मा शेर्पा, विद्यार्थीलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कलेज आइडिया हन्टमा प्राप्त आइडियाहरुमध्यबाट उत्कृष्ट १० योजनालाई व्यवसाय सम्बन्धी विभिन्न तालिम तथा परामर्श प्रदान गरिनेछ । उत्कृष्ट ३ विजेताले जनही १ लाख नगद पुरस्कारका साथै आइडिया स्टुडियो सिजन ७ मा सिधै प्रवेश पाउनेछन् । साथै इन्क्युबेसन कार्यक्रम, व्यावसायिक सञ्जाल, रियालिटी टिभी सो र लगानीको अवसर समेत प्राप्त गर्नेछन् ।

कलेज आइडिया हन्ट २०२२ मा सहभागी हुन चाहाने इच्छुक विद्यार्थीले २०७९ भदौ १९ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । विद्यार्थीले आवेदनको प्रक्रिया, योग्यता तथा भिडियो गाइडलाइनका लागि http://ideastudio.org.np/submit-college-idea-hunt/ मा गएर हेर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय