
काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा ८१५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । कोभिड–१९ ले यो २४ घण्टामा पाँचजनाको ज्यान लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । धेरै समयपछि कोरोनाबाट एकै दिन यति धेरैको ज्यान गएको हो ।
सो अवधिमा ४ हजार ५ सय ३४ जनाको नमूना परीक्षण गरिएको थियो । २ हजार ४ सय ११ जनाको पिसिआर र २ हजार १ सय २३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
सो अवधिमा ४ सय ७६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ७४ हजार दुई सय ९५ पुगेको छ । संक्रमणमुक्त हुने दर ९८.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
हाल सक्रिय संक्रमित ५ हजार ८ सय ६९ छन् । नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ८२ पुगेको छ । होम आइसोलेसनमा ५ हजार ६ सय ७७, संस्थागत आइसोलेसनमा १ सय ९२, आइसियूमा ६० र भेन्टिलेटरमा ८ जना संक्रमित छन् ।
हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला काठमाडौं र ललितपुर छन् भने २ सयभन्दा बढी संक्रमित रहेका जिल्लामा कैलाली र मोरङ छन् । शून्य संक्रमित रहेका जिल्लामा मनाङ, कालिकोट र हुम्ला छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौंमा २ हजार ९ सय २२, ललितपुर ८ सय ६८ र भक्तपुरमा ८९ सक्रिय संक्रमित छन् ।