कोलोम्बो– आफूविरुद्धको प्रदर्शन उत्कर्षमा पुगेपछि देश छाडेर भागेका श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपक्ष स्वदेश फर्किएका छन् ।
गत जुलाई राष्ट्रपति पदमा आसीन हुँदाहुँदै उनी भागेर विदेश गएका थिए । विदेश पुगेपछि उनले राजीनामा दिएका थिए । स्वदेशमा छँदै राजीनामा दिए पक्राउ पर्न सक्ने डरले उनी पदमा हुँदाहुँदै भागेका थिए ।

अस्थायी भिसामा थाइल्यान्डमा बसिरहेका राजपक्ष सिंगापुर हुँदै श्रीलंका फर्केका हुन् । केही श्रीलंकाली मन्त्रीहरूले उनलाई विमानस्थलमा भेटेको बताइएको छ ।

श्रीलंकालीहरूले उनको सरकारलाई मुलुकको इतिहासमा आइपरेको सबैभन्दा खराब आर्थिक संकटका लागि दोषी मानेका छन् ।

देशको ढुकुटीमा वैदेशिक मुद्राको भण्डार रित्तिएकाले आयात हुन नसकेपछि श्रीलंकामा खाद्यान्न र इन्धनको ठूलो अभाव सिर्जना भएको थियो ।

खाद्यान्न र इन्धनको मूल्य अचाक्ली वृद्धि भएपछि अप्रिलमा त्यहाँ प्रदर्शन सुरु भएको थियो । सबै क्षेत्र र समुदायका लाखौं मानिसहरू धेरै हदसम्म शान्तिपूर्ण ढंगले भएका प्रदर्शनमा सहभागी भएका थिए ।

उनीहरूले राजपक्ष र प्रधानमन्त्री पदमा आसीन उनका दाजु महिन्दाको राजीनामा माग गरेका थिए । महिन्द राजपक्षले मे महिनामै पदबाट राजीनामा दिएका थिए ।

जुलाईमा हजारौं मानिसहरू गोटाबाय राजपक्षको सरकारी निवासमा बलपूर्वक प्रवेश गरेका थिए । त्यसपछि राष्ट्रपति सैन्य विमानमा चढेर माल्दिभ्स भागे ।
माल्दिभ्सबाट सिंगापुर गएर उनले त्यहीँबाट राजीनामा दिएका थिए ।

राजपक्षको पलायन र पद त्यागले पुराना राजनीतिज्ञ रनिल विक्रमसिघेलाई राष्ट्रपति बन्ने अवसर दियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय