बाँके– एकल परिवारमा बाँडिइरहेको हाम्रो समाजमा संयुक्त परिवार बिरलै देख्न पाइन्छ । धेरै दाजुभाइमात्र होइन । दुई दाजुभाइ पनि छुट्टिएर एकल परिवार बनाएर बसेका छन् । तर, बाँकेको नरैनापुर गाउँपालिका–५ जमुनाहा गाउँमा ३७ जनाको परिवारका लागि एउटै भान्सामा खाना पाक्छ ।

सबैजना घरमा जुट्ँदा घरमा रौनक थपिन्छ । बिहे अनि चाडपर्वको माहोल बन्छ । कहिलेकाहीँ पाहुना आए पनि घरमा अटाउन मुस्किल पर्छ । उक्त परिवारमा आमासहित ६ भाइको संयुक्त परिवारमा पत्नी छोराछोरी गरी ३७ जना एउटै घरमा बसिरहेका छन् ।

केटाकेटीदेखि किशोर वृद्धसम्म एउटै छानामुनि रमाइरहेका छन् । सबैको आ–आफ्नो कोठा नभए पनि घरको वरिपरि छतमा समेत उनीहरु सुत्ने गर्छन् । एकैपटक ३७ जनालाई खाना पकाउन नसक्दा हरेक छाकमा दुईपटक पाक्छ । ‘बिहान बच्चाले खाना खाएर स्कुल जान्छन् पछि हामीहरुले खाने खाना पकाउँछौं,’ साइला छोरा समसुल खाले भने, ‘एकै ठाउँमा कोचाकोच गरेर भए पनि बसेका छाँं ठूलो परिवारमा बस्ने बानी पर्यो अब छुटिएर एक्लै बस्न सक्दैनौं ।’

‘सबैले आआफ्नो हिसाबले कमाए पनि घर व्यवस्थापनको जिम्मा मेरो हातमा परेको छ,’ परिवारका साइला छोरा समसुल खाले भने, ‘खर्च, बचत दुवै संयुक्त रुपमा गरेका छौं ।’ भान्सादेखि घरको सरसफाइ ६ बुहारीको हातमा हुन्छ । पालैपालो आफ्नो पालोमा उनीहरुले खाना पकाउँछन् ।

घरकी साइली बुहारी चन्दा बेबीले पालैपालो आफ्नो जिम्मेवारी पूरा गर्ने गरेकाले कुनै मनमुटाव नहुने गरेको बताइन् ।

यो परिवारलाई एउटै डोरीमा बाध्ने मुखिया आमा जमुर्ता खा हुन् । ८२ वर्षीया जमुर्ता खा सबै छोरासँगै बसेको देखेर आफैं दंग छिन् । जमुर्ता अझै टाठी छिन् । घरको बागडोर उनको हातमा छ । ‘छोरा नाति सबै आफ्नै अगाडि देख्दा बडो आनन्द आउँछ जमुर्ताले भन्नुहुन्छ, मान्छे एक दिन मरेर जान्छ बाचुञ्जेल हासीखुसी बाँच्ने हो,’ उनले भनिन् । बाँकेको पूर्वी–दक्षिणमा पर्ने नरैनापुर गाउँपालिकामा ६ वटा वडा छन् । अधिकांश वडामा मुस्लिम समुदायको बाहुल्य छ ।

नरैनापुर गाउँमा अधिकांश परिवार संयुक्त रुपमा बस्दै आए पनि विस्तारै छोराहरु एक्लिएर बस्न थालेका छन् । ‘पहिला पहिला ५०÷६० को एउटै परिवार हुन्थ्यौं अहिले विस्तारै छुटिएर एकल परिवारमा बस्न थालेका छन्,’ नरैनापुरका स्थानीय जीयावन तमौलीले भने, ‘संयुक्त परिवार संख्याको हिसाबले मात्र ठूला हुनु होइन भावना, प्रेम, सर्मपणका हिसाबले बलियो हुनु हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर