वासिंगटन– नेपालले युक्रेनमाथिको रुसी सैन्य कारवाहीलाई बर्बर पाशविक भन्दै सोको भर्त्सना गर्ने खेद प्रस्तावको पक्षमा मतदान गरेको छ । संयुक्त राष्ट्रसंघको साधारणसभामा नेपालसहित १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको आक्रमणविरुद्ध खेद प्रस्ताव पारित गरेका हुन् ।
बुधबार भएको मतदानमा १४३ देशले पक्षमा र ५ देशले विपक्षमा मतदान गरेका छन् । विपक्षमा मतदान गर्नेमा बेलारुस, उत्तर कोरिया, निकारागुवा, रुस र सिरिया छन् । यसैगरी ३५ देश मतदानको समयमा अनुपस्थित रहेका थिए ।
उक्त प्रस्तावमा भनिएको छ, ‘रुसले गरेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्र तथाकथित रुपमा गरिएको जनमत संग्रहको निन्दा गर्दछौं । साथै संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र र संगठनले युक्रेनको सीमा परिवर्तनलाई मान्यता दिने छैन ।’
उक्त प्रस्तावमा तुरुन्त र बिनासर्त रुसको निर्णय फिर्ता लिनसमेत माग गरिएको छ ।









