काठमाडौं– संसारकै सबैभन्दा धनी इलोन मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्विटर खरिद गर्ने काम सकाएका छन् । अमेरिकी सञ्चार माध्यम र उक्त कम्पनीका एक लगानीकर्ताले ट्विटर किन्ने काम सकिएको जानकारी दिएका छन् ।
मस्कले ट्विटर खरिदको काम सकिएपछि ‘द बर्ड इज फ्री’ अर्थात चरो स्वतन्त्र भयो भन्दै ट्विट गरेका छन् । ट्विटर खरिदको काम सकिएको रुपमा हेरिएको छ ।
ट्विटर खरिद गरेलगत्तै मस्कले प्रमुख कार्यकारी अधिकृत (सिइओ) पराग अग्रवाल लगायत उपल्लो तहका थुप्रै कर्मचारी हटाएका छन् । योसँगै ट्विटर किन्ने सम्बन्धमा गरेको सम्झौताका सर्तबाट भाग्न खोज्ने मस्कको प्रयासपछि ट्विटरले गरेको अदालती प्रक्रियाको पनि अन्त्य भएको छ ।
ट्विटरले भने अझसम्म पनि यसको पुष्टि गरेको छैन । तर उक्त कम्पनीका एकजना लगानीकर्ताले बेलायती सञ्चार संस्था बीबीसीलाई कारोबार पूरा भएको बताएका छन् ।
मस्कले प्रमुख कार्यकारी अग्रवाल, प्रमुख वित्तीय अधिकृत नेड सेगल र कम्पनीका उच्च लिगल एन्ड पोलिसी एक्जेक्युटिम विजय गड्डेलाई कम्पनीबाट निष्कासन गरिएको अमेरिकी सञ्चार माध्यमहरुले बताएका छन् ।
किनबेच टुंगिएपछि अग्रवाल र सेगललाई पहरा दिँदै सान फ्रान्सिस्कोस्थित ट्विटर हेडक्वाटरबाट बाहिर लगिएको रोयटर्सले बताएको छ ।
ट्विटरका सहसंस्थापक बिज स्टोनले अग्रवाल, सेगल र गड्डेलाई कम्पनीको व्यवसायमा उनीहरुले गरेको साझा योगदानबापत धन्यवाद दिएका छन् ।
न्युयोर्क स्टक एक्सचेन्जको वेबसाइटमा उल्लेख भए अनुसार उक्त कम्पनीको सेयर कारोबार शुक्रबार निलम्बन हुनेछ । मस्कले यो सोसियल मिडिया प्लेटफर्म मानवताको सहायताको लागि खरिद गरेको बताएका छन् । आफूले सभ्यताको लागि एउटा साझा डिजिटल सहरी चोक चाहेको पनि बताएका छन् ।
यसै साताको सुरुतिर मस्कले उनी सान फ्रान्सिस्कोस्थित ट्विरको मुख्यालयमा एउटा किचेन सिंक बोकेर भित्र पसेको भिडियो ट्विट गरेका थिए । उक्त भिडियोको क्याप्सनमा ‘त्यो सिंकलाई भित्र जान देउ !’ उनले आफ्नो ट्विर प्रोफाइल बदलेर ‘चिफ ट्विट’ बनाएका थिए ।
अधिकांश विश्लेषकले ट्विरका लागि मस्कले ज्यादै धेरै मूल्य तिरेको तर्क गरेका थिए । उनीहरुले थुप्रै प्रविधि कम्पनीको सेयर मूल्य घटेको र ट्विरले प्रयोगकर्ता आकर्षित गर्न र बढाउन संघर्ष गरिरहेका बेला त्यति धेरै मूल्य तिर्नु उचित नभएको बताएका थिए ।
मस्क विश्वविख्यात विद्युतीय कार टेस्लाका मालिक पनि हुन् ।









