तम्घास– गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्ष पुगिन् । यो उमेरमा कैयौंलाई आफ्ना रहर पूरा गर्न आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ । यही उमेरका युवायुवती सहर छिरेर रोजगारी खोज्दै भौंतारिरहेका छन् । तर उनले जिल्ला सदरमुकाम तम्घासमा चिया बेचेरै मासिक ९० हजार रुपैयाँ कमाइरहेकी छिन् ।

बिहान ६ देखि साँझ ७ बजेसम्म तम्घास बजारमा डुलेर विपनाले दैनिक दुई सय कप चिया बेच्छिन् । बजारमा चियाको मूल्य २५ रुपैयाा कप भए पनि विपनाले एक कप चिया २० का दरले बेच्छिन् । ‘चिया बेचेर दैनिक तीन हजारका दरले मासिक ९० हजार कमाइ हुन्छ,’ उनी भन्छिन्, ‘घरखर्च सबै कटाएर ६० हजार बचत गर्दै आएकी छ ।’ विपनाले दैनिक चारदेखि पाँच हजारसम्म कमाइ गरे पनि मासिकरूपमा औसत कमाइ तीन हजार भएको बताइन् ।

माध्यमिक शिक्षा परीक्षा (एसइई) पछि उनी पढ्नका लागि तम्घास आएकी हुन् । उनले रेसुंगा बहुमुखी क्याम्पसबाट ‘प्लस टु’ सकाइसकिन् । यसपछि फुर्सदमा भएको समयमा के गर्ने होला भनेर सोचिन् । उनको सोच जागिरभन्दा पनि आफैंले केही गरौं भन्ने भयो । यसपछि चिसो तम्घासमा तातो चिया बेच्न थालिन् । मामाघरमै चिया पकाउने, थर्मसमा बोकेर गिलाससहित बजार डुलेर चिया बेच्ने राम्रो भएमा निरन्तरता दिने होइन भने छाड्ने भनेर थालनी गरिन् । तम्घास बजारमा डुल्दा चिया अधिकतम मात्रामा बिक्री भएर आम्दानी हुन थालेपछि विगत एक वर्षदेखि उनले निरन्तर चिया बेचिरहेकी छिन् ।

अनुभव संगाल्न भनेर चिया बेच्न सुरु गरेको उनले बताइन् । ‘अनुभव हुन्छ भनेर बजारमा चिया बेच्दा फाइदा हुन थाल्यो अनि निरन्तरता दिएँ,’ उनी भन्छिन्, ‘मलाई लाज र डर भन्ने त कहिल्यै कसैसँग लागेन ।’ तम्घास बजारमै दुई सयभन्दा बढी कप चिया बिक्री भएर मनग्य आम्दानी भएपछि यसैलाई दीर्घकालीन रूपमा निरन्तरता दिने उनको भनाइ छ ।

आमाबुवा र आफन्त आफ्नो कर्मबाट खुसी भएको उनले बताइन् । उनी बिहान ६ बजे बजारमा चिया बेच्न निस्कन्छिन् । त्यसपछि फर्किएर खाना खाएपछि १२ बजे निस्कन्छिन् । तम्घास बजारमा चिया बिक्री नहुने समस्या कुनै दिन पनि नरहेको विपनाले बताइन् । उनले तयार गरेको चिया छोटो समयमै खपत हुने गरेको छ ।

उनलाई अहिले तम्घासमा हुने सार्वजनिक कार्यक्रममा पनि चिया बेच्न भ्याइनभ्याइ हुन्छ । कार्यक्रम आयोजकले आफ्ना पाहुनालाई विपनामार्फत चिया खुवाउने गरेका छन् । कार्यक्रममा उपस्थितिले विपनाको खुलेर प्रशंसा गर्छन् ।

उनी उपल्लो तम्घासमा रहेको मामाघरमा बस्छिन् । उनले बिरामी हजुरआमाको हेरचाह पनि गरिरहेको बताइन् । विपनाका बुबा हरिबहादुर कृषक हुन् । आमा कोपिला गाउँकै विद्यालयमा शिक्षिका छिन् । चिया बेचेर तम्घास बजार डुल्दा अहिलेसम्म कसैले नराम्रो नभनेको सबैले राम्रो भन्दै प्रशंसा गर्ने गरेको विपनाको अनुभव छ ।

विपना आफूजस्ता भर्खरैका युवायुवतीलाई आफ्नै गाउँठाउँमा केही रोजगार वा व्यवसाय गर्न सुझाव दिन्छन् । उनले केही कामका लागि लजाउने वा डराउने बानी राख्नै नहुने बताइन् । लाज र डरले जिन्दगीमा अगाडि बढ्न नसकिने उनको तर्क छ । विपना अहिले रेसुंगा बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा पढ्दै छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर