वासिंगटन– रुसको ऐतिहासिक प्रभावले सहयोगको सीमालाई सीमित गरे पनि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन पूर्वसोभियत गणतन्त्रहरूलाई अझ व्यापक अमेरिकी सहयोग र संलग्नामा आश्वस्त पार्न मध्य एसियाली देशको भ्रमणमा निस्कदै छन् ।

युक्रेन युद्धको प्रथम वार्षिकीपछि अमेरिकाका शीर्ष कूटनीतिज्ञ आगामी मंगलबार कजाकिस्तान र त्यसपछि उज्वेकिस्तान पुग्नुहुने भएको छ । कजाकिस्तानको राजधानी अस्तानमा सबै पाँच पूर्वसोभियत राज्यका विदेशमन्त्रीसँग उनले संयुक्तरूपमा भेटवार्ता गर्नेछन् ।

दक्षिण र मध्य एसियाका लागि अमेरिकी कूटनीतिज्ञ डोनाल्ड लुले पूर्वसोभियत राज्यहरूले रुस वा चीनसँगको सम्बन्धलाई महत्व दिइरहेका बेला त्यहाँ अमेरिकी उपस्थिति प्रवर्द्धन गर्नु अपरिहार्य भएको बताएका छन् । विदेशमन्त्री ब्लिंकेनको भावी भ्रमण मस्को र बेइजिङभन्दा वासिंगटन विश्वसनीय साझेदार भएको ती देशलाई आश्वस्त पार्ने उद्देश्यका साथ हुन लागेको पत्रकारहरूलाई बताउनुभएको छ । पूर्वशोभियत गणतन्त्रहरूमा अमेरिकी संलग्नता बढाउने तथा आर्थिक सहायता उपलव्ध गराउने सन्दर्भमा भ्रमण हुन लागेको उनले उल्लेख गरे । ती देशसँग अमेरिकी प्रस्तावबारे छलफल गर्न आवश्यक भएको उनको कथन छ ।

कूटनीतिज्ञ तथा विज्ञहरूका अनुसार मध्य एसियाली देशका नेताहरू मस्कोसँग औपचारिक सुरक्षा सम्झौताबाट बिमुख हुन चाहँदैनन् । रुस नै उनीहरूका श्रमिकहरूको प्रमुख गन्तव्य मुलुक हो । यस्तो पृष्ठभूमिमा उनीहरू रुससँगै रहेको देखाउन चाहन्छन् भने उसको आर्थिक प्रभावबाट मुक्त हुन असमर्थ छन् । गत बिहीबार संयुक्त राष्ट्रसंघको महासभाले युक्रेनमा दिगो शान्ति कायम गर्न त्यहाँबाट रुसी सेना तत्काल निःशर्त आफ्नो देश फर्कनुपर्ने प्रस्तावमाथिको मतदानमा पनि ती देश सहभागी भएनन् । मध्य एशिया अमेरिकाका निम्ति सीमाहीन भएको मध्यएसिया विज्ञ पिट्सवर्ग विश्वविद्यालयका जेनिफर ब्रिक मर्तजासभिली बताउँछन् ।

‘मध्य एसियाली राष्ट्रका नेताहरू रुसको प्रभावबाट मुक्त हुन चाहन्छन् । यो कुरा उनीहरूले राम्ररी बुझेका छन् । रुस उनीहरूका लागि खतरा हो, तर भूगोलका आधारमा उनीहरू चाहेर पनि मस्कोको साथ छाड्न सक्दैनन् । उनीहरूको आर्थिक स्थितिले पनि त्यसो गर्ने अनुमति दिँदैन । उनीहरू विकल्प चाहन्छन्,’ उनले भने । संयुक्त राज्य अमेरिकाका लागि यी रचनात्मक पक्ष भएका बताउँदै उनले ती देशका नेताहरूसँग अमेरिकाले संलग्नता बढाउनु स्वाभाविक भएको तर्क गरे ।

कजाकिस्तानसँग रुसको सबैभन्दा लामो सिमाना छ भने सबैभन्दा जटिल सम्बन्ध पनि । कजाकिस्तान जातीय रुसी अल्पसंख्यकको अधिकारको बारेमा सजग छ । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन आक्रमणको औचित्यबारे कजाक नेताहरूलाई बताएका छन् । उनले कजाकिस्तानका राष्ट्रपति कासिम जोमार्ट तोकायेभलाई गत वर्ष भेटेर रुससँगको साझेदारी पुनः पुष्टि गरेका थिए ।

केही समयअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको कुराकानीमा कजाकिस्तानका राष्ट्रपतिले अन्तर्राष्ट्रिय कानुनमा आधारित द्वन्द्वको अन्त्यका लागि वार्ता गर्न आग्रह गर्नुभएको थियो । युक्रेन आक्रमणको एक महिनाअघि राष्ट्रपति तोकायेभले रुसी नेतृत्वको सेनालाई दंगा नियन्त्रणमा मद्दत गर्न आह्वान गरे तर जनताको व्यापक विरोधपछि उनले उक्त आह्वान स्थगन गरेका थिए ।

ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमोनले गत अक्टोबरमा रुसले मध्यएसियाली देशहरूको हितलाई बेवास्ता गरेको आरोप लगाउँदै पुटिनलाई क्षेत्रीय बैठकमा सार्वजनिक रुपमा गाली गरेको भिडियो भाइरल भएपछि रुस–ताजिकिस्तान सम्बन्धमा तरंग उत्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय