काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको लक्षण देखिनासाथ आइसोलेसनमा बस्न अनुरोध गरेको छ ।

मन्त्रालयले सूचना जारी गर्दै कोरोना भाइरस संक्रमण देखिनासाथ परीक्षण गराई आइसोलेसनमा बस्न सबैमा अनुरोध गरेको हो ।

‘अस्तिको पानीमा भिजेको, हिजो चिसो खाएको र आज धुलोमा गएको भनेर बाहना नगरौं,’ मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘कोभिड–१९ का लक्षण देखिनेबित्तिकै परीक्षण गराऔं र आइसोलेसनमा बसौं ।’

मन्त्रालयले हरेक रुघा, हरेक खोकी र हरेक ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड–१९ हुने सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
नेपालमा पहिलोपटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी १.१६ देखापरेको छ । अहिले छिमेकी मुलुक भारतमा पनि सोही नयाँ भेरियन्टका कारणले संक्रमण बढिरहेको छ ।

मन्त्रालयले संक्रमण बढिरहेकाले रोकथाम र नियन्त्रणका लागि सबै तह र तत्काबाट प्रभावकारी भूमिका निभाउनसमेत आग्रह गरेको छ । कोभिड–१९ महामारी अझ पनि पूर्ण रुपमा नियन्त्रणमा आइनसकेकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन र खोप लगाउन सबैलाई आग्रह गरेको छ ।

शून्यमा झरेको कोरोना भाइरसको संक्रमण अहिले बढिरहेको छ । चैत २० गते मात्रै ७६ जनामा नयाँ संक्रमण र सक्रिय संक्रमितको संख्या २ सय २७ पुगेको छ ।

मन्त्रालयले कोरोना भाइरसबाट बच्नका लागि नाक, मुख, चिउँडो छोपिने गरी मास्क लगाउन, कोरोना भाइरसविरुद्धको खोप लगाउन, बेलाबेलामा साबुन पानी वा स्यानिटाइजरले हात धुन, खोक्दा वा हाच्छिउँ गर्दा रुमालले छोप्न र भौतिक दूरी दुई मिटर राख्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय