काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडको आयोजनामा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग – २०२३, शृंखला २’ आयोजना हुन लागेको छ । बैंकले आफ्नो २९औं वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गरेको हो । यही जेठ २० देखि २२ गतेसम्म इमाडोलस्थित बलपार्क इन्डोर क्रिकेटमा आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोली सहभागी हुने बैंकले जानकारी दिएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले प्रतियोगिताको ट्रफी र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारीले जर्सी सार्वजनिक गरेका थिए । क्रिकेट लिगका प्राविधिक निर्देशक रविन्द्र गुप्ताले लिगका नियमबारे जानकारी दिनुका साथै समूह विभाजन गरेका थिए । पत्रकार सम्मेलनमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत देवकोटाले यस क्रिकेट लिगले बैंक तथा वित्तीय संस्थाबीच भाइचारा, आत्मीयता, सद्भाव, मित्रता बढाउन थप सहयोग पुग्ने बताए ।

लिग कम नक आउट फर्म्याटमा आयोजना हुने प्रतियोगितामा ३१ खेल खेलिनेछन् । सहभागी १६ टोलीलाई ४ वटा समूहमा विभाजन गरिनेछ । समूहको उत्कृष्ट हुने दुई समूह क्वार्टरफाइनल प्रवेश गर्नेछन् । खेल १० ओभर प्रतिइनिंग्सको हुनेछ । प्रतियोगितामा माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, सनराइज बैंक, प्रभु बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, प्राइम बैंक, कुमारी बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, आईसीएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स र महालक्ष्मी विकास बैंकको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता, उपविजेता टिम, म्यान अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, बेस्ट विकेट किपर, बेस्ट फिल्डर, लगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको सम्पूर्ण खेलहरुको प्रसारण बैंकको आधिकारिक युट्युब च्यानलमार्फत हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय