काठमाडौं– भारतको पूर्वी राज्य उडिसामा भयानक रेल दुर्घटना भएको खबर आएको छ । तीनवटा रेल संलग्न उक्त घटनामा २३३ जनाभन्दा बढीको निधन भइसकेको र ९०० भन्दा बढी घाइते भएको अधिकारीहरुले बताएका छन् ।
बालासोर जिल्लामा भएको दुर्घटनास्थलमा २०० भन्दा बढी एम्बुलेन्स परिचालन गरिएको उडिसाका मुख्य सचिव प्रदीप जेनाले बताएका छन् ।
शुक्रबार बेलुका आफ्नो लिकभन्दा बाहिर पुगेको एउटा यात्रुबाहक रेलमा अर्को लिकबाट आइरहेको रेल ठोक्किँदा उक्त दुर्घटना भएको बताइएका छ । यो भारतमा एक शताब्दीकै सबैभन्दा ठूलो रेल दुर्घटना भएको प्राप्त समाचारमा उल्लेख छ ।
अधिकारीहरुले मृतकको संख्या अझै बढ्न सक्ने आंशका गरेका छन् । इन्डियन रेलवेले कोरोमन्डेल एक्सप्रेस र हावडा सुपरफास्ट एक्सप्रेस एकआपसमा ठोक्किएको बताएको छ । यो समाचार तयार गर्दासम्म २३३ जनाको शव संकलन गरेको जेनाले बताए । उनले यसअघि घटना स्थलमा १०० जना थप डाक्टर पठाइएको बताएका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनाबाट आफू दुःखी भएको भन्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
मोदीले घटनास्थलमा उद्धार कार्य जारी रहेको र प्रभावितलाई सम्भव भएसम्म सबै सहायता गरिएको बताएका छन् ।
यसैबीच, गृहमन्त्री अमित शाहले उक्त दुर्घटनालाई अत्यन्त दुखद भनेका छन् ।
दुर्घटनाबाट बचेका एकजना पुरुषले दुर्घटना हुँदा आफूमाथि १० देखि १५ जना मानिस खसेको सबै कुरा खराब भएको बताए । ‘म त्यो थुप्रोमा सबैभन्दा तल थिएँ,’ उनले भनेका छन् ।
यही दुर्घटनालाई लिएर उडिसामा एक दिने शोक घोषणा गरिएको छ ।
शालिमार–चेन्नई कोरोमान्डेल एक्सप्रेसको थुप्रै डिब्बाहरु शुक्रबार साँझ ७ बजेतिर आफ्नो लिकबाट बाहिरिएका थिए । तीमध्ये केही विपरीत ट्र्याकमा पुगेका थिए ।
यसवन्तपुरबाट हावडा गइरहेको अर्को रेल हावडा सुपरफास्ट एक्सप्रेसले ती डिब्बाहरुलाई ठक्कर दिँदा दुर्घटना भएको ठानिएको छ । भारतीय अधिकारीहरुले उक्त दुर्घटनामा अर्को मालबाहक रेल पनि संलग्न भएको बताएका छन् । तर त्यसका विषयमा उनीहरुले थप विवरण दिएका छैनन् ।
दुर्घटनामा बच्न सफल यात्रुहरुले रेलको भग्नावशेषमा च्यापिएका यात्रुको उद्धार गर्न सहयोग गरेका थिए । स्थानीय बस कम्पनीहरुले घाइतेलाई अस्पताल पुर्याउन सहयोग गरेका थिए ।









