काठमाडौं– सुनसरीको धरानलगायत वरपरका अन्य जिल्लामा व्यापकरुपमा डेंगु रोगको प्रकोप फैलिएपछि त्यसको नियन्त्रण तथा सर्वसाधारणले सहजरुपमा उपचार पाउन सकुन् भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र धरान

उपमहानगरपालिकाको सहकार्यमा २०८० असार २९ गतेदेखि प्रतिष्ठानको जीओपीडी भवनअगाडि छुट्टै डेंगु क्लिनिक सञ्चालनमा ल्याएको छ ।

उक्त क्लिनिक सञ्चालनका लागि प्रतिष्ठानले चिकित्सक, नर्स, पारामेडिक्स लगायत अन्य जनशक्तिको व्यवस्था गरेको छ भने धरान उपमहानगरपालिकाले ५ सय थान डेंगु परिक्षण किट उपलब्ध गराउनुका साथै उपचारका लागि आउने सर्वसाधारणका लागि टेन्ट, कुर्सीको व्यवस्था गरेको छ ।

हप्ताको सातै दिन सञ्चालनमा रहने उक्त क्लिनिक आइतबारदेखि शुक्रबारसम्म बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म र शनिबार बिहान ९ बजेदेखि १२ बजेसम्म सञ्चालनमा रहने बताइएको छ । क्लिनिकमा आउने बिरामीका लागि डेंगुको परिक्षण निःशुल्करुपमा गरिने व्यवस्था गरिएको छ । गत असार २९ देखि ३१ गतेसम्म जम्मा १२१ जनाको परीक्षण गरिएकोमा ९६ जना (७९.३५) मा डेंगु संक्रमण देखिएको छ, जस्मा बालकदेखि बृद्धसम्म सबै उमेर समूहका बिरामीहरु लगायत केही गर्भवती महिला पनि रहेका छन् । परीक्षणमा धरानको १५, १७ र ११ नम्बर वडाबाट बढी संक्रमित देखिएको छ ।

डेंगु क्लिनिकमा जँचाउन आउँदा बिरामीले सर्वप्रथम ओपीडी टिकट लिई क्लिनिकमा जानुपर्ने हुन्छ । त्यहाँ रहेका चिकित्सक, नर्सहरुले जाँच गरे पश्चात र्यापिड किटको माध्यमबाट परीक्षण गरी डेंगु भए–नभएको तुरुन्तै पत्ता लाग्नेछ । परीक्षणबाट डेंगु संक्रमित देखिएमा अन्य आवश्यक जाँच तथा परीक्षणहरुका लागि प्रतिष्ठानको ल्याबमा पठाइन्छ ।

घातक हुनसक्ने लक्षणहरु जस्तैः रक्तचापमा कमी हुनु, मुटुको धड्कन बढ्नु, गिजा तथा शरिरमा आएका डाबरहरुबाट रक्तश्राव हुनु, छिनछिनमा वान्ता हुनु, पेट दुख्नु आदि भएका विरामीहरुलाई इमर्जेन्सी पठाई उपचार गरिने व्यवस्था गरिएको छ ।

परीक्षणबाट डेंगु देखिएका तर स्वभाविक लक्षणहरु जस्तैः उच्च ज्वरो, शरिर तथा हाडजोर्नीहरुको दुखाई, वाकवाकी, पखाला, कमजोरी, शरिरमा डाबर (कसैकसैलाई) आदि भएका विरामीहरुलाई भने चिकित्सकको पारमर्श दिई घर पठाउने वा अवस्था हेरि प्रतिष्ठानमै उपचार गरिने व्यवस्था गरिएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय